सुमन दाहाल/ब्युटी न्युज नेपाल
केन्टकी, अमेरिका ३० अगष्ट
अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिकाले नेपाल सरकारले पत्रकारिता तथा सञ्चार क्षेत्रलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन कटौती गरेकोप्रति आपत्ति जनाउँदै निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।
अमेरिकाको वाशिङ्टन डी.सी.मा महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद खनालको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले प्रेस स्वतन्त्रता, सञ्चार क्षेत्रको अवस्था, नेपालमा आएको विनाशकारी बाढी, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनलगायतका विषयमा छलफल गर्दै नौबुँदे निर्णय गरेको हो।
विज्ञापन कटौती फिर्ता लिन माग
बैठकले लोककल्याणकारी विज्ञापन कटौती गर्ने सरकारको निर्णयले नेपाली पत्रकारिता तथा सञ्चारमाध्यमलाई थप कमजोर बनाउने निष्कर्ष निकालेको छ। देश ठूलो विपद् तथा राष्ट्रिय शोकको अवस्थामा रहेका बेला सञ्चारमाध्यमलाई सहयोग र सहकार्य गरेर अघि बढ्नुपर्नेमा सञ्चार क्षेत्रलाई कमजोर पार्ने नीति लोकतान्त्रिक मूल्य, संविधान र प्रेस स्वतन्त्रताको मर्मविपरीत हुने महासंघको भनाइ छ।
महासंघले प्रधानमन्त्री बालेन्द्र साह र सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई औपचारिक ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ। ज्ञापनपत्र बुझाउने कार्यको संयोजन उपाध्यक्ष टंक पन्तले गर्ने जनाइएको छ।
प्रेस स्वतन्त्रताका विषयमा अन्तरक्रिया गरिने
प्रेस स्वतन्त्रता तथा सञ्चार क्षेत्रका समस्या र चुनौतीबारे सरकार तथा सरोकारवालाको ध्यानाकर्षण गराउन महासंघको केन्द्रीय समिति र नेपाल शाखाको आयोजनामा विशेष अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय बैठकले गरेको छ।
कार्यक्रमको संयोजन तथा व्यवस्थापन उपाध्यक्षहरू टंक पन्त, केदार कोइराला, जीबराम भण्डारी, नेपाल शाखा अध्यक्ष कृष्णा पौडेल र बोर्ड अफ डाइरेक्टर युवराज भण्डारी ‘विद्रोही’ले गर्ने जनाइएको छ। सल्लाहकारहरू योगेश उपाध्याय, प्रा. पुरुषोत्तम दाहाल र डा. बालकृष्ण चापागाईंले आवश्यक सुझाव तथा सहयोग गर्ने बताइएको छ।
बाढीपीडितप्रति दुःख व्यक्त
बैठकले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। महासंघले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
सम्पर्कविहीन तथा उद्धारको प्रतीक्षामा रहेकाहरूको खोजी तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले उपलब्ध सम्पूर्ण स्रोत–साधन परिचालन गर्नुपर्ने महासंघको माग छ। साथै, संकटको समयमा आम नागरिकलाई धैर्य, संयम, एकता र मानवीय संवेदनशीलता कायम राख्न तथा सरकार र सुरक्षा निकायको उद्धार कार्यमा सहयोग गर्न अपिल गरिएको छ।
उद्धार संयन्त्र थप बलियो बनाउन आग्रह
महासंघले विपद्को समयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, उद्धारकर्मी तथा राज्यका विभिन्न निकायले खेलेको भूमिकाको प्रशंसा गरेको छ। भविष्यमा आउन सक्ने विपद्सँग जुध्न आधुनिक उपकरण, प्रविधि, दक्ष जनशक्ति तथा उद्धारसम्बन्धी स्रोत–साधन थप मजबुत बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ।
जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली तथा भौगोलिक रूपमा संवेदनशील मुलुकहरूमा विपद्को जोखिम बढ्दै गएको भन्दै महासंघले जलवायु परिवर्तनको असर न्यूनीकरण, अनुकूलन तथा विपद् जोखिम व्यवस्थापनका विषयमा नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ।
राहत कोषमा आर्थिक सहयोग गर्ने
राष्ट्रिय संकटको अवस्थामा बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन महासंघका तर्फबाट आवश्यक आर्थिक सहयोग प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराउने निर्णय भएको छ।
भिडियो कलमार्फत सम्पन्न बैठकमा अध्यक्ष रामप्रसाद खनालसहित सल्लाहकार तथा वरिष्ठ पत्रकारहरू योगेश उपाध्याय, प्रा. पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, उपाध्यक्षहरू टंक पन्त, केदार कोइराला, सतिश चापागाईं, महासचिव टंक दाहाल तथा बोर्ड अफ डाइरेक्टरहरू अनिल थापा, विश्वराज थापालगायतको सहभागिता रहेको महासंघले जनाएको छ।






