भोटेकोशी बाढी : ७८८ शव फेला, २ हजार ४९८ अझै सम्पर्कविहीन


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ भदौ

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म ७८८ जनाको शव फेला परेको हो ।

प्रहरीका अनुसार सबैभन्दा धेरै २६४ शव चितवनमा फेला परेका छन् । यस्तै,  पूर्वी नवलपरासीमा १९४, पश्चिम नवलपरासीमा १२०, गोरखामा ५८, नुवाकोटमा ५२, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव फेला परेको छ ।

२ हजार ४९८ जना अझै बेपत्ता

यससँगै बाढीपछि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आइतबार बिहानको विवरणअनुसार बाढीपछि २ हजार ४९८ जना अझै सम्पर्कविहीन छन् । उनीहरूको खोजीका लागि प्रभावित जिल्लामा सुरक्षाकर्मी, नेपाली सेना तथा स्थानीय उद्धार टोली परिचालन गरिएको छ । यसअघि सम्पर्कविहीनको संख्या बढ्दै गए पनि उद्धारसँगै केही व्यक्ति सम्पर्कमा आउने क्रम जारी छ ।