भोटेकोशी–त्रिशूली बाढी : आठ जिल्लामा भेटिए ४८९ जनाको शव


ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ भदौ

रसुवाको भोटेकोशी क्षेत्रबाट सुरु भई त्रिशूली नदी प्रणाली हुँदै आएको विनाशकारी बाढीमा बेपत्ता भएकामध्ये हालसम्म ४८९ जनाको शव फेला परेको सरकारले जनाएको छ। बाढी प्रभावित नदी किनार तथा आसपासका विभिन्न आठ जिल्लाबाट शव संकलन गरिएको हो। यीमध्ये ३९३ जनाको शवको पहिचान हुन सकेको छैन।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार शुक्रबार मध्याह्न १२ बजेसम्म रसुवामा १२ जना, नुवाकोटमा ३७ जना, धादिङमा ३३ जना र गोरखामा ४४ जनाको शव फेला परेको छ। केही क्षण अघि बसेको मन्त्री परिषदको बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा उनले यो जानकारी दिएका हुन् ।

केही क्षण अघि बसेको मन्त्री परिषदको बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेल

प्रवक्ता पोखरेलका अनुसार नवलपरासी पूर्वमा ११० जना, नवलपरासी पश्चिममा २७ जना, तनहुँमा २८ जना तथा चितवनमा सबैभन्दा बढी १८८ जनाको शव फेला परेको सरकारी तथ्यांकमा उल्लेख छ। केही शवहरु सिमापारी भारतमा पनि भेटिएको छ । ती शवहरु पनि नेपालबाट गएको भारतीय प्रहरीको अनुमान छ ।

फेला परेका शवहरूको सम्बन्धित जिल्लामै व्यवस्थापनको प्रक्रिया अघि बढाइएको सरकारले जनाएको छ। चितवनमा भने शुक्रबारदेखि शवको पहिचान गर्ने कार्यसमेत सुरु गरिने बताइएको छ।

सरकारका प्रवक्ता पोखरेलले बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको जानकारी दिए। नदीको बहावसँगै विभिन्न स्थानमा बगेर पुगेका व्यक्ति तथा शवको खोजीमा सुरक्षाकर्मी, स्थानीय प्रशासन र सम्बन्धित निकाय परिचालन भएका छन्।

बुधबार रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रसम्म पुगेको थियो। उक्त बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासीका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ।