ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ भदौ
भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि चलचित्र विकास बोर्डले प्रभावित चलचित्रकर्मीको सहयोग तथा विपद् राहत अभियानमा चलचित्र क्षेत्रलाई संगठित रूपमा परिचालन गर्ने निर्णय गरेको छ।
बोर्ड अध्यक्ष दिनेशराज दाहाल ‘दिनेश डी.सी.’को अध्यक्षतामा बिहीबार बिहान ११ बजे बसेको आकस्मिक बैठकले बाढी प्रभावित चलचित्रकर्मीको विवरण संकलनदेखि राहत सहयोग र जनचेतनामूलक अभियान सञ्चालनसम्मका पाँच महत्वपूर्ण निर्णय गरेको हो।
बैठकले बाढीबाट जनधनको क्षति व्यहोरेका चलचित्रकर्मीको विवरण एकीकृत गरी बोर्डमा उपलब्ध गराउन चलचित्रकर्मीका विभिन्न पेशागत संघ–संस्था तथा सरोकारवालासँग अनुरोध गर्ने निर्णय गरेको छ। प्रभावित चलचित्रकर्मीलाई सहयोग गर्न चलचित्रकर्मी कल्याणकारी कोषको अवस्था हेरी आवश्यक राहत उपलब्ध गराउन पहल गर्ने पनि बोर्डले जनाएको छ।
त्यस्तै, बाढीपीडितको सहयोगार्थ च्यारिटी शो आयोजना गर्न चलचित्रकर्मी संघ–संस्थालाई चलचित्र उपलब्ध गराउने र उक्त कार्यक्रमबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न सहयोग गर्ने निर्णय गरिएको छ।
विपद्को संवेदनशील अवस्थामा भ्रम, त्रास तथा तथ्यहीन सूचना फैलिन सक्ने भएकाले बोर्डले चलचित्र क्षेत्रका संघ–संस्थालाई संयमता अपनाउन आग्रह गरेको छ। साथै, उद्धार तथा राहत कार्यमा हातेमालो गर्न र जनचेतनामूलक सामग्री निर्माण तथा प्रचार–प्रसारमा सक्रिय हुन पनि आग्रह गर्ने निर्णय भएको छ।
यसैबीच, बोर्ड अध्यक्ष दिनेश डी.सी.ले आफ्नो आधा महिनाको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी व्यक्तिगत रूपमा सहयोग गर्ने निर्णय गरेका छन्।
भोटेकोशी बाढीपछि उत्पन्न विपद्को परिस्थितिमा चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रबाट राहत, सहयोग र जनचेतना अभियानलाई संगठित रूपमा अघि बढाउने तयारी गरेको जनाएको छ।






