ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ भदौ
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १७७ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार सबैभन्दा धेरै चितवनमा ६९ जनाको शव फेला परेको छ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बाढीको प्रभाव नदीको तटीय क्षेत्र हुँदै विभिन्न जिल्लासम्म पुगेपछि ठूलो मानवीय क्षति भएको हो। पूर्वी नवलपरासीमा ३२, धादिङमा २७, गोरखामा २०, नुवाकोटमा १२ र तनहुँमा ९ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। पश्चिम नवलपरासीमा ६ जना तथा रसुवामा २ जनाको शव फेला परेको तथ्यांकमा उल्लेख छ।
बाढीमा बेपत्ता भएका अन्य व्यक्तिको खोजी कार्य भने अझै जारी रहेको छ। नदीको बहावसँगै विभिन्न स्थानमा शव फेला पर्ने क्रम जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने आशंका गरिएको छ। खोज तथा उद्धारका लागि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। उद्धारकर्मीहरूले नदी किनार, बगर तथा बाढीले प्रभावित अन्य क्षेत्रमा खोजी तीव्र बनाएका छन्।
बाढीबाट घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ। सम्बन्धित निकायले बेपत्ता व्यक्तिको खोजी, घाइतेको उपचार तथा प्रभावित परिवारलाई आवश्यक राहत उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएको जनाएको छ।






