भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीय सबैभन्दा बढी


ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ भदौ

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विभिन्न क्षेत्रमा रहेका स्वदेशी तथा विदेशी पर्यटकसहित ६४४ जना पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले पछिल्लो विवरण सार्वजनिक गर्दै बाढीपछि पर्यटकसँग सम्पर्क स्थापित हुन नसकेको जनाएको हो।

बोर्डका अनुसार सम्पर्कविहीन हुनेमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक १७८ जना रहेका छन्। त्यसैगरी नेपाली पर्यटक १२७ जना, अमेरिकाका ६५ जना तथा युक्रेनका ५३ जना पर्यटक सम्पर्कविहीन रहेको तथ्यांकमा उल्लेख छ।

यस्तै, मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ जना पर्यटकको अवस्थाबारे पनि यकिन जानकारी प्राप्त हुन सकेको छैन। सिंगापुरका ९, रुसका ८ र जर्मनीका ८ जना पर्यटकसमेत सम्पर्कविहीनको सूचीमा रहेका छन्। लात्भिया र दक्षिण अफ्रिकाका पनि ६–६ जना पर्यटक सम्पर्कविहीन रहेको पर्यटन बोर्डले जनाएको छ।

नेपाल पर्यटन बोर्डले विभिन्न ट्राभल एजेन्सी, ट्रेकिङ तथा पर्यटन कम्पनीमार्फत पर्यटकको विवरण संकलन गरिरहेको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकको अवस्थाबारे थप सूचना आउने क्रम जारी रहेकाले सम्पर्कविहीनको संख्या परिवर्तन हुन सक्ने बोर्डको भनाइ छ। सम्बन्धित निकाय तथा पर्यटन व्यवसायीले पर्यटकको खोजी, सम्पर्क स्थापना र आवश्यक उद्धारका लागि समन्वय गरिरहेका छन्।