सरिता भारती/ब्युटी न्युज नेपाल
काठमाडौँ, १० भदौ
रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी हालसम्म १६ जनाको मृत्यु भएको पुष्टि भएको छ। रसुवा, नुवकोट र धादिङबाट धेरै हराएका कारण मृतकको संख्या अझै बढ्ने प्रहरीको कथन छ ।
बागमती प्रदेश प्रहरीका अनुसार बाढीमा बगेर आएका शवमध्ये हालसम्म नुवाकोटको नदी किनार, धादिङ नदी किनार र चितवन नदी किनारमा १६ जनाको शव फेला परेको हो। बाढी प्रभावित क्षेत्रमा अझै मानिसहरू बेपत्ता रहेको सूचना आइरहेकाले खोजी कार्य जारी छ । उता २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाका ६० जना सम्पर्कविहिन भएका छन् । भोटेकोशीमा आएको बाढीका कारण २५ जना इन्जिनियर, ड्राइभर, खानापकाउने व्यक्तिसहित टनेलमा काम गरिरहेका ३५ जना सम्पर्कविहीन रहेको आयोजना प्रवर्द्धक विजयमोहन भट्टराईले बताए । उनका अनुसार इन्जिनियर ड्राइभर खानापकाउने गरी २५ जना थिए, टनेलभित्र ३५ जनाले काम गरिरहेका थिए । बिहानदेखि सम्पर्कमा नभएको उनले बताए ।
नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको संयुक्त उद्धार ः
बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको छ। बुधबार दिउँसोसम्म नेपाली सेनाले कम्तीमा २५ जनाको उद्धार गरी सुरक्षित स्थानमा पु¥याएको जनाएको छ। उद्धारका लागि नेपाली सेनाका ६ र निजी क्षेत्रका ८ सहित १४ वटा हेलिकोप्टर परिचालन गरिएको छ। हेलिकोप्टरका साथै उद्धारकर्मी, स्वास्थ्य टोली, ड्रोन, उद्धार कुकुर र आवश्यक उपकरण प्रयोग गरी खोज तथा उद्धार कार्य तीव्र पारिएको छ।
रसुवा अस्पतालमा २४ घाइते, ६ जनाको अवस्था गम्भीर :
बाढीबाट घाइते भएका २४ जना रसुवा अस्पतालमा उपचारका लागि पुगेका छन्। तीमध्ये उपचारकै क्रममा एक जनाको मृत्यु भएको अस्पतालले जनाएको छ भने ६ जना गम्भीर घाइतेलाई थप उपचारका लागि रेफर गरिएको छ। अस्पतालमा स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी तथा सुरक्षा निकायको टोलीले उपचार र उद्धार व्यवस्थापन गरिरहेको छ।
टिचिङमा १२ र ट्रमा सेन्टरमा ३ जनाको उपचार :
गम्भीर तथा थप उपचार आवश्यक परेका घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ। हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा १२ जना र राष्ट्रिय ट्रमा सेन्टरमा ३ जना गरी १५ जना घाइतेको उपचार भइरहेको छ। ट्रमा सेन्टरमा उपचाररतमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। सरकारले वीर अस्पताल र ट्रमा सेन्टरमा थप बिरामीका लागि शय्या तयारी अवस्थामा राखेको छ।
नुवाकोटमा उद्धार गरिएकाहरूको उपचार :
नुवाकोटमा बाढीमा फसेका ५ जनाको उद्धार गरी विदुरस्थित चक्रदेव अस्पताल पु¥याइएको छ। यसअघि त्रिशूली अस्पतालमा पनि दुई जना घाइते उपचारका लागि पुगेका थिए। प्रभावित क्षेत्रबाट घाइते आउने क्रम जारी रहेकाले अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको छ । खोजी, उद्धार र उपचार कार्य जारी रहेकाले मृतक, घाइते तथा उद्धार गरिएकाको संख्या थप अद्यावधिक हुन सक्ने सम्बन्धित निकायहरूले जनाएका छन्।






