ब्युटी न्युज नेपाल
काठमाडौँ, १० भदौ
रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढी त्रिशूली नदीतर्फ फैलिँदा रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको सडक विभागले जनाएको छ। विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढीबाट पुलसँगै कम्तीमा ४० किलोमिटर सडक पनि प्रभावित भएको छ।
प्रारम्भिक विवरणअनुसार रसुवाको टिमुरे–रसुवागढी क्षेत्रबाट सुरु भएको बाढीले भोटेकोशी किनारका सडक संरचना तथा पुलमा क्षति पु¥याएको छ। चीनसँग जोड्ने रसुवागढी क्षेत्रको मितेरी पुल र आसपासका पूर्वाधार पनि प्रभावित भएको विवरण आएको छ । त्रिशुली बजारको मुख्य पुल बढाएको छ । जसका कारण त्रिसुली बजार वारी पारीको सम्बन्ध टुटेको छ । यस्तै धादिङको सदरमुकाम जोड्ने त्रिशुली फुर्के खोलाको मुख्य पुल बगाएको छ । धादिङको यो सहित आधा दर्जन पुलहरु बढेका छन् ।

नुवाकोटतर्फ त्रिशूली नदी किनारका विभिन्न सडक तथा पुलमा क्षति पुगेको छ। विशेषगरी बेत्रावती, त्रिशूली बजार, देवीघाट तथा विदुर आसपासका नदीतटीय संरचना जोखिममा परेका छन्। धादिङतर्फ पनि त्रिशूली किनार हुँदै गल्छी आसपाससम्मका सडक र पुल प्रभावित भएका छन्।
प्रवक्ता न्यौपानेका अनुसार सडक विभागले प्रभावित क्षेत्रमा डोजर, एक्स्काभेटरलगायत भारी उपकरण तथा जनशक्ति परिचालन गरी अवरुद्ध सडक खुलाउने र क्षतिग्रस्त पुल तथा सडकको अवस्था सुधार गर्ने काम सुरु गरेको छ। बाढीको प्रभाव र क्षतिको विवरण संकलन जारी रहेकाले प्रभावित पुल र सडकको संख्या थप परिवर्तन हुन सक्ने विभागले जनाएको छ।






