सरिता भारती/ब्युटी न्युज नेपाल
काठमाडौँ, १० भदौ
तिब्बततर्फबाट बुधबार बिहान अचानक आएको भीषण बाढीले रसुवाको भोटेकोशी नदी हुँदै त्रिशूली र नारायणी नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीको प्रभाव रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनसम्म देखिएको छ भने गोरखाका नदीतटीय क्षेत्रमा समेत उच्च सतर्कता अपनाइएको छ। बाढीको वास्तविक कारण अझै आधिकारिक रूपमा यकिन हुन नसकेको अवस्थामा तिब्बततर्फको भारी वर्षा, हिमताल विस्फोट वा अन्य प्राकृतिक कारणबारे विभिन्न अनुमान सार्वजनिक भएका छन्।
रसुवामा बजार र पूर्वाधारमा व्यापक क्षति
जिल्ला प्रहरी कार्यालय रसुवाले दिएको जानकारी अनुसार बाढी सबैभन्दा पहिले रसुवाको टिमुरे, स्याफ्रुबेसी तथा भोटेकोशी किनारका क्षेत्रमा प्रवेश गरेको थियो। प्रारम्भिक विवरणअनुसार टिमुरे भन्सार क्षेत्रका संरचना, बजार तथा नदी आसपासका पूर्वाधारमा ठूलो क्षति पुगेको छ। स्याफ्रुबेसी क्षेत्रमा समेत बजार तथा जलविद्युत् आयोजनामा क्षति पुगेको जनाइएको छ। कतिपय स्थानमा सम्पर्कसमेत विच्छेद भएकाले वास्तविक क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ।
नुवाकोटमा ६० घर बगे, दुई पक्की पुलमा क्षति
यस्तै जिल्ला प्रहरी कार्यालय नुवाकाटले दिएको जानकारी अनुसार नुवाकोटमा पनि यो बाढीले ब्यापक क्षती भएको छ । रसुवाबाट तल झरेको बाढीले नुवाकोटका बेत्रावती, त्रिशूली बजार, ढुंगेबजार र देवीघाट क्षेत्रमा व्यापक क्षति पुर्याएको प्रहरीले जनाएको छ । प्रारम्भिक विवरणअनुसार त्रिशूली बजार आसपासका करिब ६० घर बाढीले बगाएको छ भने त्रिशूली नदीमा रहेका दुई पक्की पुलसमेत बगेका छन्। त्रिशूली र देवीघाट जलविद्युत् आयोजना प्रभावित भएका छन्। २५ मेगावाट क्षमताको सौर्य प्लान्टका तीन ब्लक तथा सबस्टेसनमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ।
बाढी आउनुअघि सूचना पाएपछि धेरै स्थानीय सुरक्षित स्थानतर्फ सरेका कारण प्रारम्भिक चरणमा नुवाकोटमा मानवीय क्षतिको आधिकारिक विवरण प्राप्त नभएको जनाइएको छ। यद्यपि घरबार गुमाउने तथा विस्थापित परिवारको यकिन संख्या भने उद्धार र क्षति विवरण संकलन पूरा भएपछि मात्रै सार्वजनिक हुने प्रहरीले जनाएको छ।

धादिङको बैरेनी बजार पूर्ण डुवान, चितवनमा नदीतटीय क्षेत्र उच्च जोखिममा
स्तै जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार बाढी पसेर धादिङको बैरेनी बजार पूर्ण रुपमा डुवेको छ । त्यहाँका बासिन्दाहरु घर, पसल छाडेर सुरक्षित क्षेत्रमा पुगेर आश्रयको खोजीमा छन् । मुख्य राजमार्गबाट त्रिसुरी पारी जाने विभिन्न पुलहरु बगेको छ । बाढी त्रिशूली नदी हुँदै तलतर्फ बढेपछि धादिङ र चितवनका नदीतटीय क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। प्रशासनले नदी किनारका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। चितवनतर्फ नारायणी नदी प्रणालीसम्म प्रभाव पर्न सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ। यसअघि नै प्रभावित हुन सक्ने क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान र अनावश्यक रूपमा नदी किनारमा नजान अनुरोध गरिएको छ।
बेपत्ता र विस्थापितको संख्या अझै यकिन भएन
बाढी प्रभावित विभिन्न क्षेत्रमा मानिसहरू सम्पर्कविहीन भएको सूचना आए पनि बुधबार दिउँसोसम्म कति जना बेपत्ता भएका छन् भन्ने एकीकृत र आधिकारिक संख्या सार्वजनिक भएको छैन। रसुवाका केही बस्ती र बजार क्षेत्रमा सम्पर्कमा कठिनाइ भएकाले सुरक्षा निकायले खोज तथा उद्धार अभियान तीव्र बनाइरहेका छन्। प्रभावित परिवारको संख्या तथा घरबारविहीन भएकाहरूको विवरण पनि सम्बन्धित स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले संकलन गरिरहेका छन्।
सडक आवागमनमा रोक, उद्धार कार्य तीव्र
बाढीको जोखिम बढेपछि सरकारले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा सडक तथा मुग्लिङ–नारायणगढ सडक क्षेत्रमा विशेष सतर्कता अपनाउन र आवश्यक स्थानमा आवागमन रोक्न आग्रह गरेको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदीतटीय क्षेत्रमा अर्को सूचना नआएसम्म उच्च सतर्कता अपनाउन सरकारको अनुरोध छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय प्रशासन उद्धार, खोजी र क्षति विवरण संकलनमा परिचालित भएका छन्। प्रभावित क्षेत्रको सञ्चार सम्पर्क, सडक पहुँच र वास्तविक क्षतिको अवस्था क्रमशः खुल्दै गएकाले बेपत्ता, विस्थापित तथा भौतिक क्षतिको संख्या अझै परिवर्तन हुन सक्ने अधिकारीहरूले बताएका छन्।






