ब्युटी न्युज नेपाल
काठमाडौँ, ३१ साउन
युवा कलाकार दिपरोज गुरुङले ‘समय यात्रा’ शीर्षकको एकल कला प्रदर्शनी बालाजुस्थित शशी आर्ट स्टुडियोमा शनिबारबाट सुरु गरेका छन् । अग्रज कलाकार जीवन राजोपाध्यायले एक समारोहका बिच सो प्रदर्शनीको उद्घाटन गर्दै कलाकार दिपरोजले सामयिक चेत बोकेका कलाकृति बनाएको विचार व्यक्त गरे । उनले परिपक्व कलाकारले जस्तै कला रचना गरेर आफ्नोपनसहित दिपरोज नेपाली कलाक्षेत्रमा देखापरेको भनाइ राखे ।
समारोहमा जीवनले भने, ‘कलाकारले प्रकृतिको गहन अध्ययन गर्दै सामाजिक तथा सांस्कृतिक विषयलाई उठाउनसके अझै प्रभावकारी र सशक्त काम आउने विश्वास लिन सकिन्छ । प्रदर्शनीमा राखिएका कलाकृतिमार्फत कलाकारले आफ्नोपन देखाउन सफल भएका छन् । यसलाई निरन्तरता दिँदै अझै सिर्जनात्मक काम नेपाली कलाक्षेत्रले पाउने छ ।’ उनले समसामयिक परिवेश झल्किने कलाकृतिमार्फत सामाजिक भावना, मनोवैज्ञानिक तथा धार्मिक, सांस्कृतिक प्रतीकात्मक बिम्ब झल्किने कलाकृति राखिएको जिकिर गरे ।

सो समारोहमा बोल्दै कलाकार सम्झना राजभण्डारीले कलाकार गुरुङका चित्रमा सामाजिकचेत, सांस्कृतिक तथा मिथकीय विषयवस्तु प्रस्तुत भएको विचार व्यक्त गरिन् । उनले भनिन्, ‘सचेत रुपमा कलाकारले आफ्नो सिर्जनात्मक प्रस्तुतिमार्फत नेपाली कलामा नवीन चिन्तन पस्किने कोसिस गरेका छन् ।’ उनले कलाकार दिपरोजले विगत चार वर्षदेखि शशी आर्ट स्टुडियोमा बसेर काम गरिरहेको सुनाउँदै योबिचमा निकै राम्रा कलाकृति बनाउन सफल भएको जानकारी दिइन् ।
सो कार्यक्रममा सिर्जना कलेज अफ फाइन आर्टस्का प्रिन्सिपल डा. बालकृष्ण रञ्जितले कलाकार दिपरोज गुरुङले मिहिनेतका साथ काम गरेर नेपाली कलाजगतमा सशक्त उपस्थिति जनाउन सकेको धारणा व्यक्त गरे । उनले कलाकारले आगामी दिनमा अझै सशक्त रुपमा आफूलाई प्रस्तुत गर्ने विश्वाससमेत व्यक्त गरे ।

यस्तै कलाकार सौरगंगा दर्शनधारीले दिपरोजका कलाकृतिले सामाजिक, सांस्कृतिक तथा मानवीय मनोभावनालाई कलात्मक रुपमा चित्रण गरेको धारणा व्यक्त गरिन् । उनले भनिन्, ‘कलाकारले आफ्नो सिर्जनात्मक पक्षलाई रङ र विषयका माध्यमबाट कलात्मक ढङ्गले प्रस्तुत गर्न सफल भएका छन् ।’ उनले मानवीय शारीरिक रुपलाई फरक रुपबाट चित्रण गर्दै सबल रेखा र रङबाट प्रस्तुत गरिएको जिकिर गरिन् । दर्शनधारीले थपिन्, ‘प्रदर्शनी राखिएका कलाकृतिमा कलाकारले समय, परिस्थिति र सांस्कृतिक जीवनका विविध पाटालाई सचेत रुपमा उतारेका छन् ।’
कलाकार गुरुङले नारीलाई सम्मान गर्दै आफ्नो जीवनमा सहयोग गर्ने नारीप्रति प्रदर्शनी समर्पण रहेको बताए । उनले मिथकीय बिम्ब र सांस्कृतिक विषयमा तयार पारिएका कलाकृति प्रदर्शनीमा राखिएका सुनाए ।

कला शिक्षक र भिजुअल आर्टिस्टका रुपमा परिचित दिपरोज ५ वर्षअघिदेखि शशी आर्ट स्टुडियोमा प्रशिक्षकका रुपमा कार्यरत् छन् । ४ वर्ष विभिन्न विद्यालयमा कला शिक्षकका रुपमा काम गरेका दिपरोजका देश तथा विदेशमा दर्जर्नौ पटक सामूहिक प्रदर्शनी भएका छन् । ललितकला विषयमा स्नातक गरेका उनी काठमाडौं बेस बनाएर कलाकर्म गरिरहेका कलाकार हुन् । उनले परम्परागत कलाका मिथक र बिम्बलाई आधुनिक तथा समसामयिक रुपमा ढालेर सामयिकचेत युक्त चित्र रचना गर्दै आइरहेका छन् । उनले काठमाडौं उपत्यकाका सांस्कृतिक, विम्ब र पहिचानका विषयलाई क्यानभासमा उधिन्दै आएका छन् । नेपाली पहिचान बोकेका विभिन्न सांस्कृतिक, धार्मिक तथा सामाजिक विषयलाई क्यानभासमा चित्रण गर्दै आइरहेका गुरुङले यस प्रदर्शनीमार्फत सामयिक चेत प्रस्तुत गर्न सफल भएका छन् । प्रदर्शनी १५ दिनसम्म चल्ने कलाकार दिपरोजले जानकारी दिए ।



