ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ साउन
सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स नेपाल २०२६’का प्रतियोगीलाई औपचारिक रूपमा स्यास प्रदान गरिएको छ। काठमाडौंस्थित सोल्टी होटलमा आयोजित विशेष समारोहमा सहभागी प्रतियोगीहरूले आफ्नो आधिकारिक स्यास प्राप्त गरेका हुन्। प्रतियोगिताको फाइनलको लागि छानिएका १३ प्रतियोगी स्यास समारोहमा सहभाग थिए ।
स्यास समारोहसँगै प्रतियोगीहरूको मिस युनिभर्स नेपाल २०२६ यात्राले औपचारिक रूप लिएको आयोजकले जनाएको छ। कार्यक्रममा प्रतियोगीहरूले आत्मविश्वास र व्यक्तित्व प्रस्तुत गर्दै आगामी प्रतिस्पर्धाका लागि आफूलाई तयार रहेको सन्देश दिएका थिए।
आयोजकका अनुसार स्यास प्रतियोगितामा सहभागीको औपचारिक पहिचानसँगै उनीहरूको सपना, लक्ष्य र आगामी यात्राप्रतिको प्रतिबद्धताको प्रतीक हो। समारोहले प्रतियोगीहरूलाई एकअर्कासँग परिचित हुँदै आफ्नो क्षमता प्रस्तुत गर्ने अवसरसमेत प्रदान गरेको थियो।
स्यास समारोहपछि प्रतियोगीहरूले विभिन्न चरणका प्रशिक्षण, चुनौतीपूर्ण प्रतिस्पर्धा तथा सामाजिक गतिविधिमा सहभागिता जनाउनेछन्। प्रशिक्षण र प्रतिस्पर्धाका विभिन्न चरण पार गर्दै उनीहरू ग्रान्ड फिनालेतर्फ अघि बढ्नेछन्।
मिस युनिभर्स नेपालले नेपाली युवतीमा आत्मविश्वास, नेतृत्व क्षमता र प्रतिभाको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको छ। प्रतियोगितामार्फत नेपालको प्रतिनिधित्व अन्तर्राष्ट्रिय सौन्दर्य मञ्चमा गराउने उद्देश्यसमेत राखिएको छ।
स्यास समारोह सम्पन्न भएसँगै मिस युनिभर्स नेपाल २०२६ को उपाधिका लागि प्रतियोगीहरूको औपचारिक प्रतिस्पर्धात्मक यात्रा सुरु भएको छ।



