ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ साउन
लोकप्रिय हास्य पात्र ‘हर्के हल्दार’का रूपमा परिचित कलाकार विष्णु सापकोटा पुनः टेलिभिजनमा फर्किएका छन् । लामो समय पर्दाबाट टाढा रहेका सापकोटा अब हास्य कार्यक्रम ‘कमेडी बाज’मार्फत दर्शकमाझ नियमित देखिने भएका हुन् ।
हरेक आइतबार राति ८ बजे इमेज टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘कमेडी बाज’मा सापकोटा पर्फमरका रूपमा सहभागी हुनेछन् । उनले आफ्नो चर्चित पात्र ‘हर्के हल्दार’कै गेटअपमा हरेक साता हास्य प्रस्तुति दिनेछन् । उनको पुनरागमनसहितको कार्यक्रम आगामी आइतबार प्रसारण हुनेछ ।
आउँदो भागमा सुशील नेपाल, प्रताप दास, सिडी विजय अधिकारी र श्यामराना अतिथिका रूपमा सहभागी भएका छन् । सोही भागमा हर्के हल्दारको प्रस्तुति पनि समेटिएको छ । कार्यक्रमका निर्माता, निर्देशक तथा सञ्चालक सुन्दर खनालले दर्शकले लामो समयदेखि रुचाउँदै आएको पात्र भएकाले सापकोटालाई कार्यक्रममा जोडिएको बताए । उनका अनुसार अब ‘कमेडी बाज’मा हर्के हल्दारलाई निरन्तर देख्न सकिनेछ ।
कलाकार सापकोटा लामो समयसम्म ‘हर्के हल्दार’ सिरियलमा आबद्ध थिए । पछिल्लो चार वर्षयता भने उनी उक्त सिरियलबाट अलग छन् । यद्यपि सिरियलको प्रसारण भने निरन्तर हुँदै आएको छ । कार्यक्रममा सुन्दर खनालसँगै आरती थापा होस्टका रूपमा छन् । विकास धमला सहायक निर्देशक रहेको शोको लेखन सुन्दर खनाल र सन्देश देवकोटाले गर्दै आएका छन् । कार्यक्रमको छायांकन अमृत सुनुवारको टिमले गर्दै आएको छ ।
खनालका अनुसार ‘कमेडी बाज’को प्रस्तुतिमा पनि केही परिवर्तन गरिएको छ । यसअघि ब्याटलमा केन्द्रित कार्यक्रमलाई अब थप मनोरञ्जनात्मक बनाउँदै विभिन्न नयाँ प्रस्तुति समावेश गरिएको उनले बताए ।



