सुरु भयो चलचित्र विकास बोर्डको ‘ओल्ड इज गोल्ड’, ‘आमा’का चार कलाकारले गरे उद्घाटन


ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ साउन

नेपाली चलचित्रको इतिहास बोकेको पहिलो नेपाली चलचित्र ‘आमा’का चार कलाकार दशकौँपछि एकै ठाउँमा भेला भएका छन् । चलचित्र विकास बोर्डले आयोजना गरेको पुराना नेपाली चलचित्रको महोत्सव ‘ओल्ड इज गोल्ड’को पहिलो दिन ‘आमा’का कलाकार भुवन चन्द, चैत्यदेवी सिंह, वसुन्धरा भुसाल र विमला श्रेष्ठको विशेष उपस्थितिले कार्यक्रमलाई स्मरणीय बनाएको हो ।

पुराना तथा ऐतिहासिक नेपाली चलचित्रलाई पुनः ठूलो पर्दामा प्रदर्शन गर्दै नयाँ पुस्तालाई नेपाली सिनेमाको इतिहाससँग जोड्ने उद्देश्यले बोर्डले शुक्रबारदेखि ‘ओल्ड इज गोल्ड’ सुरु गरेको हो । पहिलो दिन प्रदर्शन गरिएको ‘आमा’ हेर्न दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो । हलका सबै सिट भरिएपछि केही दर्शकले उभिएरै चलचित्र हेरेका थिए ।

कार्यक्रमको सुरुवातमा हास्यकलाकार हरिवंश आचार्य र चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष कृष्ण मल्लले ‘आमा’का चारै कलाकारलाई माला लगाएर स्वागत गरेका थिए । त्यसपछि भुवन चन्द, चैत्यदेवी सिंह, वसुन्धरा भुसाल र विमला श्रेष्ठले संयुक्त रूपमा दीप प्रज्वलन गरी महोत्सवको उद्घाटन गरे ।

चलचित्र प्रदर्शनअघि बोर्ड अध्यक्ष दिनेश डीसीले चारै कलाकारसँग ‘आमा’ निर्माण हुँदाको समय, चलचित्रमा काम गर्दाका अनुभव तथा नेपाली चलचित्रको प्रारम्भिक यात्राबारे संवाद गरेका थिए । कलाकारहरूले त्यतिबेलाको चलचित्र निर्माणको अवस्था, सीमित प्रविधि, काम गर्ने शैली र ‘आमा’सँग जोडिएका आफ्ना अविस्मरणीय अनुभव दर्शकमाझ सुनाएका थिए ।

दशकौँअघि आफूहरूले अभिनय गरेको चलचित्र पुनः ठूलो पर्दामा हेर्न कलाकारहरू स्वयं उपस्थित हुँदा कार्यक्रम भावुक बनेको थियो । साथै, नयाँ पुस्तासहित विभिन्न उमेर समूहका दर्शकको उत्साहपूर्ण सहभागिताले पुराना नेपाली चलचित्रप्रतिको चासो अझै कायम रहेको देखाएको छ ।

बोर्ड अध्यक्ष डीसीले ‘ओल्ड इज गोल्ड’लाई नियमित कार्यक्रमका रूपमा अघि बढाउने घोषणा गरेका छन् । उनका अनुसार हरेक महिना एउटा ऐतिहासिक नेपाली चलचित्र प्रदर्शन गरिनेछ र त्यसबाट प्राप्त रकम चलचित्रकर्मी कल्याणकारी कोषमा जम्मा गरिनेछ ।

पुराना चलचित्रको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तासम्म नेपाली सिनेमाको इतिहास पुर्‍याउने तथा ती चलचित्रमा योगदान दिएका कलाकार र प्राविधिकको सम्मान गर्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिइने बोर्डले जनाएको छ ।