मिस युनिभर्स नेपाल २०२६ काठमाडौं अडिसनबाट २५ प्रतियोगी छनोट


ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ साउन

 मिस युनिभर्स नेपाल २०२६ को काठमाडौं अडिसन बिहीबार सोल्टी होटलमा सम्पन्न भएको छ। अडिसनबाट उत्कृष्ट २५ जना प्रतियोगी ग्रान्ड फिनालेका लागि छनोट भएका छन्। मिस युनिभर्स नेपाल २०२६ को  ग्रान्ड फिनाले आगामी सेप्टेम्बर ६ मा काठमाडौंस्थित सोल्टी होटलमा आयोजना हुनेछ, जहाँ नयाँ मिस युनिभर्स नेपालको ताज विजेता घोषणा गरिनेछ।

आयोजकका अनुसार अडिसनमा नेपालका विभिन्न क्षेत्रसँगै गैरआवासीय नेपाली (एनआरएन) समुदायका सहभागी गरी कुल १०६ जनाले प्रतिस्पर्धा गरेका थिए। सहभागीहरूको आत्मविश्वास, व्यक्तित्व, प्रतिभा र प्रस्तुतिको समग्र मूल्याङ्कनपछि उत्कृष्ट २५ जनालाई अन्तिम चरणका लागि छनोट गरिएको राष्ट्रिय निर्देशक संगीता पुरीले जानकारी दिइन्।

उनका अनुसार छनोट भएका प्रतियोगीहरूले अब ग्रान्ड फिनालेअघि विशेष प्रशिक्षण, व्यक्तित्व विकास, मेन्टरसिप तथा विभिन्न व्यावसायिक तालिममा सहभागी हुनेछन्। ती कार्यक्रममार्फत उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि तयार पारिनेछ।

यसअघि इटहरीमा सम्पन्न अडिसनबाट ३० प्रतिस्पर्धीमध्ये ५ जना छनोट भइसकेका छन्। विभिन्न चरणका अडिसनमार्फत उत्कृष्ट प्रतिस्पर्धी छनोट गर्दै आयोजकले यस वर्षको प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।