नेपाली चलचित्रमा अभिनय गरेका भारतीय बरिष्ट अभिनेता प्रदीप रावतको निधन


ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ साउन

नेपाली चलचित्र ह्वस्व दीर्घ, आ बाट आमा, आ बाट आमा २ का चरित्र अभिनेता एवम् बलिउडका चर्चित बरिष्ट अभिनेता प्रदीप रावत हामी माझ रहेनन् । वरिष्ठ अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि क्यान्सरसँग संघर्षरत रावतको मंगलबार मुम्बईको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । त्यति बेला उनका श्रीमती र छोरा विक्रमादित्यसमेत प्रदीपको अन्तिम क्षणसम्म उनीसँगै अस्पतालमा उपस्थित रहेका थिए ।

उनको निधनको पुष्टि म्यानेजर सिद्धार्थले नेपाली तथा भारतीय सञ्चारमाध्यमसँग गरेका हुन्। उनका अनुसार रावतलाई चार वर्षअघि क्यान्सर देखिएको थियो र उपचारपछि स्वास्थ्यमा सुधार आएको थियो। तर करिब डेढ महिनाअघि नेपालमा चलचित्र आबाट आमा २ को छायांकनको क्रममा उनको स्वास्थ्य अवस्था ठिक थिएन । तर उनले यो चलचित्रको छायांकन औषधी लिँदै गरेका थिए । लगत्तै मुम्बई गएपछि उनलाई पुनः क्यान्सर बल्झिएको देखियो । त्यसपछि उनी लगातार उपचाररत थिए।

म्यानेजर सिद्धार्थका अनुसार, उनको सुरुमा कोकिलाबेन अस्पतालमा लगभग तीन हप्तासम्म उपचार गरिएको थियो। त्यसपछि उनलाई बान्द्राको क्यान्सर विशेषज्ञ अस्पतालमा सारिएको थियो। उपचारकै क्रममा प्लेटलेट्सको मात्रा तीव्र रूपमा घट्नुका साथै भाइरल ज्वरोसमेत देखिएपछि उनको स्वास्थ्य अवस्था जटिल बनेको थियो । म्यानेजर सिद्धार्थका अनुसार प्लेटलेट्स ज्यादै न्युन रहेको अवस्थामा उनको निधन भएको हो ।

प्रदीप रावतले आफ्नो अभिनय यात्रामा लगान, गजनी, अग्निपथ, सरफरोश, कोयला, बागी, मेजर साहब, छत्रपति, वीरम जस्ता हिट चलचित्र दिएका थिए । उनले यी सहित थुप्रै सफल चलचित्रमा सशक्त अभिनय गर्दै भारतीय चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाएका थिए। विशेषगरी गजनीमा उनले निर्वाह गरेको खलपात्रको भूमिका आज पनि दर्शकमाझ स्मरणीय मानिन्छ । उनले धैयौँ चलचित्रमा अभिनय गरेको भए पनि प्रदीपलाई गजनीको भिलेन भनेर सुरुमा दर्शकले सम्बोधन गर्छन ।

प्रदीपको जम्न मध्य प्रदेशको जबलपुरमा भएको हो । उनले कलारकार बन्न निकै संघर्ष गर्नु परेको थियो । लाईट र क्यामेराको संसारमा उनको यात्रा सजिलो थिएन। सुरुमा, उनले धेरै अस्वीकृतिहरूको सामना गर्नु परेको थियो । चलचित्रमा प्रविधिकको काम समेत उनले गर्नु पर्यो । तर त्यसपछि, अनुभवी फिल्म निर्माता बी.आर.चोपडाले उनको उच्च कद र सशक्त व्यक्तित्वलाई याद गरे । सोही लोभलाग्दो ज्यानको कारण प्रदीपले धारावाहिक धार्मिक श्रृँखला “महाभारत“ मा अश्वत्थामाको भूमिका निर्वाह गरे। यो भूमिकाले रावतलाई घरघरमा प्रसिद्धिमा पु¥यायो। यो उनको करियरमा एक महत्वपूर्ण मोड साबित भयो, जसले सिनेमामा अझ बढी अवसरहरूको ढोका खोल्यो । उनले हिन्दीसँगै दक्षिण भारतीय तथा नेपाली चलचित्रमा पनि उल्लेखनीय योगदान दिए।

ह्रस्व दीर्घमा अभिनेता प्रदीप रावत

नेपाली चलचित्र ह्रस्व दीर्घ र आ बाट आमा मार्फत नेपाली दर्शकसँग पनि निकट बनेका रावतले अभिनय गरेको तेस्रो नेपाली चलचित्र आ बाट आमा २ आगामी दसैँमा रिलिज हुँदैछ । प्रदीपको निधनले भारतीयसँगै नेपाली चलचित्र क्षेत्रमा समेत शोकको वातावरण सिर्जना भएको छ । उनी प्रती ब्युटी न्युज नेपाल हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।