ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ साउन
नेपाली साहित्यका गहन भाव, राष्ट्रिय चेतना र मानवीय संवेदनालाई संगीतको माध्यमबाट नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यसहित तयार गरिएको गीति एल्बम ‘जागृति’ राजधानी काठमाडौंमा सार्वजनिक गरिएको छ। मिलापद्वारा आयोजित विशेष समारोहमा महाकाव्यकार खेमनाथ दाहालका चर्चित काव्यकृतिबाट साभार गरिएका गीत समेटिएको एल्बमको लोकार्पण गरिएको हो। कार्यक्रमको अध्यक्षता मिलापका प्रधान सम्पादक कृष्ण भुसालले गर्नुभएको थियो।
दाहालको ‘श्वेतपत्र’ महाकाव्य र ‘योद्धा’ काव्यका श्लोकलाई संगीतबद्ध गरी तयार पारिएको एल्बममा ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’, ‘बित्छ बिहान आमाको’, ‘फुल्छ बागमा फूल’ र ‘गाउँछौ अब लौ आमाका गीत’ समावेश छन्। गीतहरूमा राष्ट्रप्रेम, मातृत्व, प्रकृतिप्रेम, सांस्कृतिक गौरव र मानवीय संवेदनाका विविध पक्ष प्रस्तुत गरिएको छ। तीन गीतमा संगीतकार तथा गायक सन्तोष श्रेष्ठको स्वर, एक गीतमा वरिष्ठ गायिका ज्ञानु राणा र अर्कोमा गायक रमेश पाठकको स्वर रहेको छ।
कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद् डा. यज्ञेश्वर निरौलाले महाकाव्यकार खेमनाथ दाहालले आफ्ना सिर्जना गीतका रूपमा जनमानससम्म पुग्न थालेकोमा खुशी व्यक्त गर्दै साहित्यलाई समयअनुकूल विभिन्न माध्यमबाट प्रवाह गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
संगीतकार सन्तोष श्रेष्ठले महाकाव्यका श्लोकलाई मूल भाव र छन्द जोगाउँदै संगीतबद्ध गर्नु चुनौतीपूर्ण भए पनि काव्यको आत्मा अक्षुण्ण राख्ने प्रयास गरिएको बताउनुभयो। समारोहमा चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदी, चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापालगायतले ‘जागृति’ नेपाली साहित्य र संगीतबीचको सशक्त सेतु बनेको धारणा राखेका थिए।



