एनआरएनएको दोहोरो कर प्रणाली हटाउने पहल


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ साउन

नेपाल सरकार र गैरआवासीय नेपाली संघ (एनआरएनए( बीच विश्वभर रहेका नेपालीको ज्ञान, सीप र लगानीलाई नेपालको विकाससँग जोड्ने विषयमा सहकार्य गर्ने सहमति बनेको छ। आगामी विश्व ज्ञान सम्मेलन–२०२७ आयोजना र दोहोरो कर प्रणाली हटाउने पहललाई सरकारले सकारात्मक रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसँग भएको भेटमा एनआरएनएको प्रतिनिधिमण्डलले विश्व ज्ञान सम्मेलन–२०२७ को अवधारणापत्र बुझाउँदै सम्मेलनलाई सरकारको साझेदारीमा सम्पन्न गर्न आग्रह गरेको थियो। मन्त्री वाग्लेले सम्मेलनले विदेशमा रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता, वैज्ञानिक तथा उद्यमीहरूको ज्ञान र अनुभवलाई नेपालको आर्थिक तथा सामाजिक विकाससँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आवश्यक समन्वय र सहयोग गर्ने आश्वासन दिनुभयो।

भेटमा एनआरएनएका उपाध्यक्ष तथा सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डा। ज्ञानेन्द्र रेग्मीले सम्मेलनमार्फत विश्वभर छरिएका नेपाली विज्ञहरूको दक्षता, प्रविधि र नवप्रवर्तनलाई नेपालको प्राथमिकताप्राप्त विकास क्षेत्रमा उपयोग गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।

एनआरएनएका पदाधिकारीहरूले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन, एकीकृत एनआरएन ऐन तथा करिब १० अर्ब रुपैयाँ बराबरका लगानी परियोजनामा देखिएका कानुनी जटिलता समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। साथै, नेपाल डेभलपमेन्ट फन्ड सञ्चालनका बाँकी प्रक्रिया शीघ्र टुंग्याउन पनि आग्रह गरिएको थियो।

छलफलका क्रममा दोहोरो कर प्रणाली हटाउने विषयलाई पनि प्राथमिकतामा राखिएको थियो। अर्थमन्त्री वाग्लेले यससम्बन्धी आवश्यक प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै यस्तो व्यवस्था लागू भएपछि विदेशमा रहेका नेपाली व्यवसायी र लगानीकर्तालाई नेपालमा लगानी गर्न सहज हुने तथा वैदेशिक लगानी आकर्षित गर्न थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।