ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ साउन
नेपालको जलस्रोतको अवस्था, सम्भावना र दीर्घकालीन उपयोगबारे केन्द्रित नयाँ पुस्तक ‘नेपालको जलस्रोत’ आइतबार काठमाडौंमा सार्वजनिक गरिएको छ। जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित उक्त पुस्तकको लोकार्पण जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गरेका हुन्।
पुस्तक सार्वजनिक गर्दै अध्यक्ष यादवले जलसम्पदाको दृष्टिले नेपाल विश्वका धनी मुलुकमध्ये एक भए पनि त्यसको प्रभावकारी र राष्ट्रिय हितअनुकूल उपयोग हुन नसकेको बताए। उनले जलस्रोतलाई केवल जलविद्युत्मा सीमित नराखी कृषि, सिँचाइ, खानेपानी, उद्योग, वातावरण संरक्षण र आर्थिक समृद्धिसँग जोडेर दीर्घकालीन नीति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।
नेपाली र अंग्रेजी भाषामा प्रकाशित पुस्तकमा नेपालको जलस्रोत विकासको वर्तमान अवस्था, सम्भावना, नीतिगत चुनौती, जलवायु परिवर्तनको प्रभाव, ऊर्जा, जल व्यवस्थापन, सिँचाइ तथा दिगो विकासका विविध पक्षलाई तथ्यगत विश्लेषणसहित प्रस्तुत गरिएको लेखक महाजन यादवले जानकारी दिए।
लेखकका अनुसार पुस्तक तयार गर्नुको उद्देश्य जलस्रोतसम्बन्धी नीतिगत बहसलाई तथ्यमा आधारित बनाउनुका साथै नीति निर्माता, अनुसन्धानकर्ता, विद्यार्थी र सरोकारवालाका लागि उपयोगी अध्ययन सामग्री उपलब्ध गराउनु हो। पुस्तकमा नेपालको जलस्रोत विकासको ऐतिहासिक पृष्ठभूमिदेखि भविष्यका अवसर, चुनौती र जलवायु परिवर्तनसँग जुध्न अपनाउनुपर्ने नीतिगत तथा व्यावहारिक उपायसमेत समेटिएका छन्।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जलस्रोत विज्ञ, शिक्षाविद्, अनुसन्धानकर्ता तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजकले पुस्तक नीति निर्माण, अध्ययन तथा अनुसन्धानका लागि महत्वपूर्ण सन्दर्भ सामग्री बन्ने विश्वास व्यक्त गरेको छ।

