‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’का उत्कृष्ट स्रष्टा सम्मानित, १० हजार अमेरिकी डलरको पुरस्कार 


ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ साउन

चीनमा सम्पन्न ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’मा उत्कृष्ट ठहरिएका नेपाली चलचित्र तथा स्रष्टाहरूलाई काठमाडौंमा आयोजित विशेष समारोहबीच नगद पुरस्कारसहित सम्मान गरिएको छ। फेस्टिभलमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका चलचित्र र चलचित्रकर्मीलाई कुल १० हजार अमेरिकी डलर बराबरको नगद पुरस्कार प्रदान गरिएको हो।

फेस्टिभलमा चलचित्र ‘एन्जिला’ उत्कृष्ट चलचित्र घोषित हुँदै ४ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्न सफल भयो। यस्तै, ‘तेल भिसा’ का निर्देशक शंकर घिमिरे उत्कृष्ट निर्देशक घोषित हुँदै २ हजार डलरबाट सम्मानित भए। अभिनयतर्फ ‘छक्का पञ्जा’ का दीपकराज गिरी उत्कृष्ट अभिनेता र ‘कबड्डी ४’ की मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भए। उनीहरूले जनही एक हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरे। ‘महाजात्रा’ का पुरुषोत्तम प्रधान उत्कृष्ट छायाकार तथा ‘होस्टेल ३’ उत्कृष्ट सम्पादन विधामा छनोट हुँदै समान एक–एक हजार डलर पुरस्कार हात पारे।

चीनको हुनान प्रान्तस्थित छाङसामा गत अप्रिल १४ देखि १९ सम्म आयोजित नेपाली चलचित्र सप्ताहअन्तर्गत सम्पन्न फेस्टिभलका चलचित्रहरूको मूल्याङ्कन चिनियाँ चलचित्र विज्ञ, प्राध्यापक तथा फिल्म अध्ययनरत विद्यार्थीहरूको टोलीले गरेको आयोजकले जनाएको छ।

काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा चीनबाट आएको प्रतिनिधिमण्डलको पनि विशेष स्वागत गरिएको थियो। कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, वरिष्ठ अभिनेता हरिहर शर्मा तथा नेपाली चलचित्र क्षेत्रका अग्रणी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। समारोहमा नेपाल–चीनबीच चलचित्र आदान–प्रदान, सह–उत्पादन र ओटीटी प्लेटफर्ममार्फत नेपाली चलचित्रलाई चिनियाँ बजारमा विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो।

आयोजकहरूले यस सहकार्यले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।