लायन्स क्लब अफ काठमाडौँ अभियानका पदाधिकारीद्वारा पदभार ग्रहण 


ब्युटी न्युज नेपाल
काठमाडौँ, २ साउन

लायन इन्टरनेशलन ३२५ (एल) अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौँ अभियानको छैटौँ वार्षिक समारोह तथा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण र पद ग्रहण कार्य शनिवार साँझ सम्पन्न भएको हो । लायन इन्टरनेशलन डिस्ट्रिक्ट ३२५ (एल)की डिस्ट्रिक्ट गभर्नर तारा भुसालको प्रमुख आतिथ्यमा पद हस्तान्तरण र पद ग्रहण कार्य सम्पन्न भएको हो ।

समारोहका विशेष अतिथिहरूमा डिस्ट्रिक्ट क्याबिनेट सचिव प्रवेश निरौला, क्याबिनेट कोषाध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, डिस्ट्रिक्ट को चिफ एड्भाइजर गोपीमान श्रेष्ठ, एफडब्लुसी कोअर्डिनेटर सोनी कारंजित, रिजन चयेर पर्सन नकुल गिरी, कलावति श्रेष्ठ थिए ।

लायन्स क्लब अफ काठमाडौँ अभियानकी पाँचौँ कार्यसमितिकी क्लब अध्यक्ष रूपमा जंगम राणाले लायन्स क्लब अफ काठमाडौँ अभियानको छैटौँ कार्यसमितिको नयाँ अध्यक्ष सुरेन्द्र गिरीलाई अध्यक्षको कार्यभार हस्तान्तरण गरिन् । यस्तै यस अघिका उपाध्यक्ष, सचिव र कोषाध्यक्षले पनि वर्तमान सोही पदका पदाधिकारीलाई कार्यभार हस्तान्तरण गरे ।

आजैबाट लायन्स क्लब अफ काठमाडौँ अभियानको छैटौँ कार्यसमितिको नयाँ अध्यक्ष सुरेन्द्र गिरी, उपाध्यक्ष द्धय विनीता महर्जन श्रेष्ठ, सरिता भारती, सचिव दिलीप शाही र कोषाध्यक्ष कुन्दन गिरीले आ आफ्नो कार्यभार ग्रहण गरे । क्लबका नयाँ सदस्य एवम् ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६ की बिजेता चाँदनी श्रेष्ठ र अर्की नयाँ सदस्य सम्झना अधिकारी राउतलाई पनि अभियानमा स्वागत गरियो ।

पद हस्तान्तरण समारोहमा अभियानकी पाँचौँ कार्यसमितिकी अध्यक्ष रूपमा जंगम राणालाई एक वर्षको कार्य विवरण प्रस्तुत गर्दै आफूलाई सहयोग गर्ने सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गरिन् ।

समारोहमा सबैलाई स्वागत गर्दै एफडब्लुसी कोअर्डिनेटर सोनी कारंजितले आफ्नो अध्यक्षतामा ६ वर्ष अघि गठन भएको लायन्स क्लब अफ काठमाडौँ अभियानले नियमित रूपमा सामाजिक कार्यमा गरेका प्रगतिहरूको चर्चा गरिन् ।

३२५ एल डिस्ट्रिक्ट क्याबिनेट सचिव प्रवेश निरौला, क्याबिनेट कोषाध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, डिस्ट्रिक्ट को चिफ एड्भाइजर गोपीमान श्रेष्ठ र रिजन चयेर पर्सन नकुल गिरीले अभियानका नयाँ कार्यसमितिलाई सफल कार्यकालको बधाई ज्ञापन गर्दै लायनको कर्तव्य र दायित्वबारे प्रकाश पारे ।

समारोहकी प्रमुख अतिथि एवम् लायन इन्टरनेशलन डिस्ट्रिक्ट ३२५ (एल)की डिस्ट्रिक्ट गभर्नर तारा भुसालले यस वर्ष आफूले आफ्नो डिस्ट्रिक्ट अन्तर्गत महिला सशक्तीकरण अभियानलाई अघि सारेको बताइन् । स्थापना कालदेखि नै सक्रिय रहँदै आएको लायन्स क्लब आफ काठमाडौँ अभियानले धेरै पटक राम्रो काम गरेर उत्कृष्ट क्लबको रूपमा पुरस्कृत भएको पनि उनले स्मरण गराइन । अभियानलाई नयाँ कार्यसमितिले अझ उचाइमा पुर्‍याउने भनाई राख्दै गभर्नर भुसालले नयाँ कार्यसमितिको सफल कार्यकालको कामना गरिन् ।

यस्तै कार्यक्रमको अन्त्यमा अभियानकी उपाध्यक्ष सरिता भारतीले अतिथिहरूलाई समारोहमा धन्यवाद ज्ञापन गरिन् । समारोह नयाँ कार्यसमितिलाई प्रमाणपत्र प्रदान गर्दै केक काटेर अभियानको छैटौँ वार्षिक उत्सवको चार्टर नाइट भव्य रूपमा मनाइएको थियो ।