ब्यापक बिरोध बढेपछि माफी माग्दै दुर्गेश र प्रियंकाले युट्युवबाट हटाए म्याथ सिक्ने…गीत


ब्युटी न्युज नेपाल
काठमाडौँ, १ साउन

नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रचारका लागि सार्वजनिक गरिएको शीर्षक गीत विवाद चुलिएपछि निर्माण पक्षले आधिकारिक रूपमा सबै डिजिटल प्लेटफर्मबाट हटाएको छ। गीतमा प्रयोग भएका केही शब्द र प्रस्तुतिप्रति शिक्षक समुदायसहित सामाजिक सञ्जालमा व्यापक असन्तुष्टि जनाइएपछि निर्माण टोलीले निर्णय गर्दै गीत हटाएको हो।

फिल्मकी निर्मात्री तथा मुख्य अभिनेत्री प्रियंका कार्की र गायक दुर्गेश थापाले छुट्टाछुट्टै वक्तव्य सार्वजनिक गर्दै दर्शक तथा शिक्षक समुदायसँग क्षमायाचना गरेका छन्। उनीहरूले गीतले अनाहकमा कसैको भावनामा चोट पुगेको महसुस गर्दै भविष्यमा यस्ता विषयमा थप संवेदनशील रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

दुर्गेश थापाले आफ्नो आधिकारिक युट्युब च्यानल र अन्य सामाजिक सञ्जालबाट गीत हटाइएको जानकारी दिँदै सुझाव र प्रतिक्रियालाई सकारात्मक रूपमा ग्रहण गरिएको बताएका छन्। उनले शिक्षकप्रति आफ्नो सम्मान सधैँ कायम रहने उल्लेख गर्दै गीतको उद्देश्य केवल चलचित्रको प्रचारलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गर्नु रहेको स्पष्ट पारेका छन्।

यता प्रियंका कार्कीले पनि सार्वजनिक सन्देशमार्फत गल्ती स्वीकार गर्दै आलोचनालाई सुधारको अवसरका रूपमा लिएको बताएकी छन्। उनले सम्पूर्ण टिमका तर्फबाट शिक्षक तथा दर्शकसँग क्षमा माग्दै आगामी सिर्जनामा सामाजिक उत्तरदायित्वलाई अझ बढी प्राथमिकता दिने प्रतिबद्धता जनाएकी छन्।

गीत सार्वजनिक भएलगत्तै प्रयोग भएका द्विअर्थी शब्द र दृश्यप्रति तीव्र विरोध भएको थियो। नेपाल शिक्षक महासंघले गीत हटाउन औपचारिक माग गरेपछि विवाद थप चर्किएको थियो भने सामाजिक सञ्जालमा चलचित्र बहिष्कारको अभियानसमेत चलेको थियो। त्यसपछि निर्माण पक्षले विवादलाई साम्य पार्ने उद्देश्यले गीत हटाउने निर्णय गरेको जनाएको छ।