८ वटा पर्दासहित गुण सिनेमा नयाँ स्वरूपमा पुनः सञ्चालनमा


ब्युटी न्युज नेपाल
काठमाडौँ, १ साउन

ललितपुरको ग्वार्कोस्थित गुण सिनेमा करिब तीन वर्षपछि नयाँ स्वरूपमा पुनः सञ्चालनमा आएको छ। साउन १ गतेदेखि दर्शकका लागि खुला गरिएको यस मल्टिप्लेक्समा अब अत्याधुनिक प्रविधिसहित ८ वटा स्क्रिन सञ्चालनमा छन्। २०५२ सालमा स्थापना भएको गुण सिनेमा २०७९ सालमा नयाँ भवन निर्माणका लागि बन्द गरिएको थियो।

नयाँ भवनसँगै गुण सिनेमाले दर्शकलाई आधुनिक सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ। ४१ देखि २६० सिट क्षमताका हलमा अत्याधुनिक साउन्ड सिस्टम, लेजर प्रोजेक्टर, सिल्भर स्क्रिन, प्रिमियम सोफा सिट, पूर्ण वातानुकूलित वातावरण तथा आरामदायी लबीको व्यवस्था गरिएको छ। साथै, हलभित्र कफी, स्न्याक्स र अन्य खाद्य सामग्रीको सुविधा पनि उपलब्ध गराइएको छ।

गुण सिनेमा प्रालिका अध्यक्ष राजेन्द्र (दिजेन्द्र) शाक्यले नयाँ भवन निर्माणका कारण केही वर्ष दर्शकलाई असुविधा भए पनि अब थप सुविधा र एक अतिरिक्त स्क्रिनसहित सेवा दिन पाउँदा खुशी लागेको बताए। क्युएफएक्सको व्यवस्थापनमा सञ्चालन हुने यस सिनेमामा नेपाली तथा विदेशी चलचित्र प्रदर्शन गरिनेछ।

पुनः सञ्चालनको अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन तथा क्युएफएक्सका प्रमुख नकिम उद्दिनले गुण सिनेमाको नयाँ स्वरूपले नेपाली चलचित्र उद्योग र दर्शक दुवैलाई लाभ पुग्ने विश्वास व्यक्त गरे। उद्घाटनसँगै नेपाली फिल्म ‘गौँथली’, हिन्दी ‘धमाल ४’ र अंग्रेजी ‘द ओडिसी’ प्रदर्शनमा आएका छन्। निर्माता छविराज ओझाले गुण सिनेमाको पुनरागमनले नेपाली चलचित्र बजारमा फेरि पुरानो उत्साह फर्किने अपेक्षा व्यक्त गरे।