थाइल्यान्डमा हुने ग्लोबल डान्स लिगमा नायिका परिक्षासहित नेपालका तीन टोली


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३१ असार

अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’ मा सहभागी हुन नेपालका तीन नृत्य टोलीसहित कलाकार र प्रशिक्षकहरूको प्रतिनिधिमण्डल थाइल्यान्ड पुगेको छ। विश्वका विभिन्न देशका उत्कृष्ट नर्तक, कोरियोग्राफर तथा प्रशिक्षक सहभागी हुने प्रतियोगितामा यसपटक नेपालले पनि सशक्त उपस्थिति जनाएको हो।

ग्लोबल डान्स लिग नेपालका राष्ट्रिय निर्देशक रोशन गहतराजका अनुसार ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ बाट छनोट भएका टिम एनटी, द इननेट सोलएनडिए जुनियर ले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरिरहेका छन्। प्रतियोगिताको औपचारिक उद्घाटन बुधबार साँझ हुने कार्यक्रम छ।

प्रतियोगितामा नेपाली चलचित्रकी नायिका परीक्षा लिम्बुको विशेष सहभागिता रहेको छ भने चर्चित कोरियोग्राफर जेडी तमू निर्णायकको भूमिकामा रहेका छन्। विश्वका अनुभवी निर्णायकसँगै उनले उत्कृष्ट प्रस्तुतीहरूको मूल्यांकन गर्ने अवसर पाएका छन्। आयोजकका अनुसार यति ठूलो अन्तर्राष्ट्रिय नृत्य प्रतियोगितामा नेपालबाट निर्णायक चयन हुनु नेपाली नृत्य क्षेत्रका लागि गौरवको विषय हो।

यस वर्षको प्रतियोगितामा विभिन्न देशका सयौं नर्तक तथा नृत्य समूहले प्रतिस्पर्धा गर्नेछन्। सांस्कृतिक आदानप्रदानसँगै हुने प्रतिस्पर्धाले नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा थप चिनाउने विश्वास गरिएको छ। पछिल्ला वर्षहरूमा नेपाली नृत्य समूहहरूले विश्व मञ्चमा प्रभावशाली प्रदर्शन गर्दै नेपालको कला र संस्कृतिको पहिचान विस्तार गर्दै आएका छन्।