हरि ढुंगेल र अमर बान्तुलाई लाईफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिँदै


ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ असार

यस अघि थाइल्यान्डको बैंककमा सम्पन्न भएको हिमालयन इन्टरनेशनल अवार्डको छैटौँ संस्करण यसपटक भारतको सिक्किमस्थित राभङलामा साउन ३ गते (१९ जुलाई) आयोजना हुने भएको छ। ‘भाषा, साहित्य, कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नारासहित हुने समारोहमा वरिष्ठ स्रष्टा अमर वान्तु र हरि ढुंगेललाई ‘दीर्घसाधना सम्मान–२०२६’ प्रदान गरिने भएको छ।

अवार्ड संयोजक गीता अधिकारीका अनुसार नेपाली भाषा, साहित्य, गीत–संगीत, कला र सामाजिक सेवामा दशकौँदेखि पुर्‍याउँदै आएको उल्लेखनीय योगदानको कदरस्वरूप दुवै स्रष्टालाई सम्मान गर्न लागिएको हो। आयोजकका अनुसार यो सम्मान दुई व्यक्तिको योगदानको मात्र मूल्याङ्कन नभई नेपाली भाषा, कला र संस्कृतिप्रतिको दीर्घकालीन समर्पणप्रति सम्मान पनि हो।

सिक्किममा जन्मिएका हरि ढुंगेल नेपाली साहित्य, अभिनय, गीत–संगीत तथा सामाजिक सेवामा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। उहाँका कविता, कथा, गीत तथा नियात्रासम्बन्धी सात कृति प्रकाशित छन् भने नेपाली साहित्य परिषद्, सिक्किमका अध्यक्षका रूपमा पनि उहाँले उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनुभएको छ। गीतकारका रूपमा पनि उहाँका दर्जनौँ चर्चित गीत नेपाली संगीत क्षेत्रमा लोकप्रिय छन्।

भोजपुरमा जन्मिएका वरिष्ठ गीतकार अमर वान्तुले चार दशकभन्दा लामो समयदेखि नेपाली गीत–साहित्यलाई समृद्ध बनाउँदै आउनुभएको छ। उहाँका १५० भन्दा बढी गीत सार्वजनिक भइसकेका छन् भने ‘अमर भावना’ एल्बम, ‘परिभाषाका राँटाहरू’ लगायतका कृतिमार्फत साहित्य र संगीत क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनुभएको छ। उहाँका धेरै गीत श्रोतामाझ अत्यन्त लोकप्रिय छन्।

अवार्ड समारोहमा नेपाली गीत–संगीतका स्रष्टा, कला पत्रकार तथा बालप्रतिभालाई समेत विभिन्न विधामा सम्मान गरिने अध्यक्ष गणेश सुवेदीले जानकारी दिएका छन्। आयोजकका अनुसार नेपाल र भारतका नेपालीभाषी स्रष्टालाई एउटै मञ्चमा जोड्दै नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्नु नै अवार्डको मुख्य उद्देश्य हो।