ब्युटी न्युज नेपाल
काठमाडौँ, २६ असार
चलचित्र चिरञ्जिवी भवको छायांकनको क्रममा कलाकार काजल कर्णको पूर्व घोषित भुमिका खोसिएपछि बढेको विवादले अहिले चरम रुप लिएको छ । काजलले आफुमाथि अपमान भएको भन्दै मिडियामा आएपछि चिरञ्जिवी भवका निर्देशक दीपक प्रसाद आचार्यले पनि त्यसको प्रतिक्रिया सामाजिक सञ्जाल मार्फत दिएका छन् । निर्देशक आचार्यको प्रतिक्रियाको फेरी आजै अभिनेत्री काजलले सामाजिक सञ्जाल मार्फत नै लिखित जवाफ दिएकी छिन् । दीपकले लेखेको जवाफ र त्यसको काजलले दिएको प्रति जवाफ यहाँ प्रस्तुत गरिएको छ
निर्देशक दीपक प्रसाद आचार्यको काजललाई जवाफ ः
हाम्रो लागि कुनै क्षेत्रीय वा जातिय समुदाय छैन,यौटै समुदायछ “मानव समुदाय“
सामाजिक संजालमा चिरञ्जीवी भवको सुटिङ सेट मा आएको एउटा गम्भिर बिषय प्रती मेरो ध्यानाकर्षण भएको छ, काजोल कर्ण जिको स्टाटस पढे पछि मैले आरोपित सम्पुर्ण प्राबिधिक अनि टिम सँग छलफल गरेपश्चात हामी केही कुरा क्लियर गर्दैछौ,
१– वँहाले मेरो निर्देशनमा रहेको सेट मा केही प्राबिधिक हरु बाट अत्यन्तै तुच्छ ब्यबाहार भयो भन्ने आरोपमा कुनै सत्यता छैन, र मलाइ उहाले कुनै जानकारी गराउनु भएको छैन!! यदि कुनै सदस्यबाट उहाले आरोप लगाएजस्तो ब्यबहार गरेको पुष्टि भएमा गल्ती गर्ने जो कोहिलाइ पनि१ सेकन्ड अबिलम्ब नगरी कारबाही गरिनेछ!
२– कलिङ्ग टाइम ७ः३० को राखिएको सुटिङ्ग सेटमा ९ः०० बजे सम्म कलाकारलाइ कुरेर बसेका ७० जना सुटिङ्ग युनिटलाइ अन्तमा सहायक निर्देशक मार्फत म आउदिन भन्ने सन्देस पठाउनु भएछ, मैले टिम क्याप्टेनको हिसाबले एउटा कलाकारले अनुसासन भंग गरि यति ठूलो युनिट होल्ड हुन नदिइ सुटिङ सुचारु गरेको हु र कलाकार को पारिश्रमिक सम्बन्धमा निर्माण टिम सँग छलफल गर्दा तेश्रो किस्ता मात्र दिन बाँकी जुन डबिङ्ग पश्चात् दिइने जानकारी पायको छु!
३– सम्बन्धित कलाकार कुनै समुदाय विशेष को भएको कारण हामिले छनौट गरेका हैनौ, जुन कुरा पछि चलचित्र प्रदर्शन पश्चात् झन सबैले बुझ्नु हुनेछ! उहाँ मधेसी मुलको हुनुहुँदो रहेछ भन्ने कुरा मैले त उहाको स्टाटस पढेपछी मात्र थाहा भयो, हाम्रो लागि कुनै जातिय वा क्षेत्रीय कलाकार हुदैन, हरेक चरित्र हाम्रो लागि समान हुन र हामी बराबर सम्मान गर्छौ!!
४–कलाकार भएपछी जस्तोसुकै भुमिका निर्वाह गर्न पर्छ, जसमा कहिले डोको बोक्न पर्ला, कहिले गाई को सेवा गर्न पर्ला, हरेक पेसा प्रती हाम्रो उच्च सम्मान छ, अझ चरित्रमा प्राँण भर्न कलाकारले जिवन्त अभिनयगर्नु यौटा कलाकार को कर्तब्य हो!!
५–काजोल जिले अत्यन्तै सुन्दर भुमिका निर्वाह गर्नुभएको छ, उहाले आरोप लगाउनु भए जस्तो गाइको गोबर सोहर्ने काम मात्र दिइयो भन्ने कुरा सत्यहैन हामि सँग उहाले गर्नुभएका हरेक भुमिकाका भिडियो फुटेज सुरक्षित छन!
६–उहालाइ कतिपय कुरा हरु मिस अन्डरस्टान्डिङ्ग भएको हुन सक्छ,यदि त्यस्तो भए हामी उहाँ सँग छलफल गर्ने वातावारण तयार गर्नेछौ!!
हाम्रो लागि संसारमा एउटै समुदाय हुन्छ मानव समुदाय, हरेक मानवलाइ हामी समान ब्यबाहार गर्छौ, हामी अत्यन्तै मेहेनत गरेर नेपाली चलचित्र उद्योगको लागि एउटा सुन्दर शृजना निर्माण मा ब्यस्त छौ, आउनुहोस हामी सबै मिलेर एउटा राम्रो सिनेमा निर्माण मा सहयोग गरौँ! काजल जि को कलाकारिताको लागि सफलताको शुभकामना!! चिरञ्जीवी भव
कलाकार काजलको जवाफ ः
सत्यको ऐना र झूटको पर्दाः निर्देशक ज्यूलाई मेरो जवाफ!
सत्यलाई फिल्मको ‘क्यानभास’ मा जति नै रंग्याउन खोजे पनि यसको वास्तविक रंङ कहिल्यै खुइलिँदैन। ‘चिरञ्जीवी भवः’ को सेटमा मैले जे भोगेँ, त्यो मेरो आत्माले मात्र जानेको छ। तर निर्देशक दीपकप्रसाद आचार्य ज्यूको ६ बुँदे ‘स्पष्टीकरण’ पढेपछि मलाई महसुस भयो– फिल्मको पर्दामा कथा बुन्न सिपालु उहाँ, वास्तविकतालाई बंग्याउन पनि उत्तिकै खप्पिस हुनुहुँदो रहेछ। तर स्मरण रहोस्, सेटको लाइट र क्यामराले सत्यलाई सधैँ छोप्न सक्दैन।
निर्देशक ज्यू, तपाईंका ती ६ बुँदे ‘स्पष्टीकरण’ भित्र लुकाइएका तीता सत्यहरूलाई म यसरी उजागर गर्न चाहन्छु।
१. सेटमा भएको नश्लीय दुव्र्यवहारः तपाईंले भन्नुभयो– ‘तुच्छ व्यवहार भएको सत्य होइन।’ तर निर्देशक ज्यू, तपाईंकै अगाडि मेकअप आर्टिस्टले मलाई ‘मधेशी भएपछि कालो मेकअप नै सुहाउँछ, गाई–भैँसीलाई कसरी बोलाउँछन्, बोलाएर देखाऊ त!’ भन्दै उपहास गर्दा तपाईंको ‘मानवता’ कहाँ निदाएको थियो? म अपमानले जलिरहँदा तपाईं मौन बस्नु नै त्यो दुव्र्यवहारको मतियार हुनु हो।
२. अनुशासनको नक्कली दुहाईः तपाईंले ७० जनाको युनिट ९ बजेसम्म कुरेको र मैले अनुशासन भंग गरेको कुरा गर्नुभयो। निर्देशक ज्यू, २०–२५ दिनदेखि आफ्नो दोस्रो किस्ता पारिश्रमिक र खर्चका लागि मैले सुवास काफ्लेजीलाई कति पटक बिन्ती गरेँ, त्यसको रेकर्ड मसँग छ। पैसा नदिने, फोन नउठाउने अनि कलाकारले ‘पैसा नआएसम्म आउँदिन’ भन्नु कसरी अनुशासनहीनता भयो? ७० जनाको युनिट होल्ड हुनुको मुख्य दोषी कलाकार होइन, कलाकारको पसिनाको मूल्य नचुकाउने तपाईंको टिम हो।
३. किस्ताको झूटो खेलः तपाईंले ‘तेस्रो किस्ता मात्र बाँकी थियो’ भन्नुभयो। यो अर्को सफेद झूट हो। सुटिङको सुरुमै पाउनुपर्ने दोस्रो किस्ताका लागि मैले भिख मागेझैँ पैसा माग्नुप¥यो। के आफ्नो श्रमको मूल्य माग्नु तपाईंको नजरमा अपराध हो?
४. पहिचानमाथिको प्रहारः ‘म मधेशी हुँ’ भन्ने स्टेटस पढेपछि मात्र थाहा भयो भन्नु कतिसम्मको हास्यास्पद तर्क हो? फिल्म साइन गर्दा मेरो थर ‘कर्ण’ र मेरो घर–पृष्ठभूमिबारे सोधखोज गर्ने तपाईं आज ‘अन्जान’ बन्नु कुन मानवीय र व्यवसायिक संवेदनाभित्र पर्छ?
५. इटहरीको त्यो चरम अपमानः पैसा हालिदिन्छु भनेर इटहरी बोलाउने, तर त्यहाँ पुग्दा मलाई जानकारी नै नदिई अर्कै कलाकारलाई मेकअप गराएर मेरो भूमिका खोस्ने? एउटा कलाकारलाई विस्थापित गर्दा पालना गर्नुपर्ने न्यूनतम व्यावसायिक मर्यादासम्म तपाईंको टिमले राखेन। मलाई हेयर स्टाइलिस्टबाट ‘लुगा लिन मात्र बोलाएको’ भन्न लगाउनु कुन चाहिँ कलाकारिताको धर्म भित्र पर्छ निर्देशक ज्यू?
६. स्क्रिप्ट र नियतः मलाई गोबर सोहोर्ने वा फोहोर उठाउने दृश्यप्रति कुनै घृणा छैन, तर ती कुराहरू स्क्रिप्टमा किन थिएनन्? किन मधेशी कलाकार देख्नेबित्तिकै तपाईंको नजरमा ‘मजदुर’ वा ‘गोठालो’ को प्रतिविम्ब मात्र झल्किन्छ?
निर्देशक ज्यू, एउटा भूमिका खोसेर तपाईंले आफ्नो फिल्म त पूरा गर्नुहोला, तर एउटी मधेशी छोरीको आत्मसम्मानमा पु¥याएको चोटको हिसाब कुनै पनि ‘सिनेम्याटिक लेन्स’ ले मेट्न सक्ने छैन। यो लडाइँ अब मेरो मात्र रहेन, यो फिल्म क्षेत्रभित्र हुने हरेक रङ्गभेद र श्रम शोषण विरुद्धको लडाइँ हो। सत्य डग्दैन, केवल समयलाई पर्खिरहन्छ ।
उही काजल कर्ण, (एउटी कलाकार, जो आफ्नो माटो र स्वाभिमानमा गर्व गर्छे)

