‘चिरञ्जिवी भवः’ युनिटमाथि काजल कर्णद्धारा रंगभेद र दुब्र्यवहारको आरोप


ब्युटी न्युज नेपाल
काठमाडौँ, २६ असार

कलाकार काजल कर्णले नेपाली चलचित्र ‘चिरञ्जिवी भवः’ को निर्माण टोलीमाथि रंगभेद, मानसिक उत्पीडन तथा बिना जानकारी चलचित्रबाट हटाइएको आरोप लगाएकी छन्। ३५० भन्दा बढी थारु, भोजपुरी, मैथिली र नेपाली म्युजिक भिडियोमा अभिनय गरिसकेकी कर्णले सार्वजनिक पत्रमार्फत आफूले छायांकनका क्रममा विभेदपूर्ण व्यवहार भोग्नुपरेको दाबी गरेकी हुन्।

उनका अनुसार पारिश्रमिक र पोसाक खर्चबारे जानकारी मागेपछि आफूलाई इटहरी बोलाइए पनि त्यहाँ पुग्दा निर्देशक दीपकप्रसाद आचार्यको निर्देशनमा आफ्नो स्थानमा अर्कै कलाकारलाई अभिनय गराइएको थाहा पाएकी थिइन्। हेयर स्टाइलिस्टबाट आफूलाई पोसाक लिन मात्रै बोलाइएको भनिएको र पूरा पारिश्रमिकसमेत नदिइएको उनको आरोप छ।

कर्णले हरिवंश आचार्य र करिश्मा मानन्धरसँग काम गर्ने अवसर पाउँदा सुरुमा उत्साहित भए पनि पहिलो दिनदेखि नै अपमान सहनुपरेको बताएकी छन्। प्रोडक्सनतर्फबाट यातायात सुविधा नदिइएको र आफैं व्यवस्थापन गर्न दबाब दिइएको उनको भनाइ छ।

इटहरीमा छायांकनका क्रममा मुख्य अभिनेत्री प्रशंसा रायमाझी र प्रमुख सहायक निर्देशकबाट पनि असहयोग र दुर्व्यवहार भएको उनले उल्लेख गरेकी छन्। मेकअप आर्टिस्टहरूले आफ्नो मधेशी पहिचानलाई लिएर अपमानजनक टिप्पणी गरेको, अनुहारमा जानीजानी कालो मेकअप गरिएको तथा स्क्रिप्टमा नभएका काम गर्न लगाइएको आरोप पनि उनले लगाएकी छन्।

कर्णले यस घटनाले मधेशी कलाकारले फिल्म क्षेत्रमा भोग्नुपर्ने विभेद उजागर गरेको बताउँदै आफ्नो सपना र आत्मसम्मानका लागि संघर्ष जारी रहने उल्लेख गरेकी छन्। यता, यी आरोपबारे चलचित्र ‘चिरञ्जिवी भवः’को निर्माण पक्ष वा निर्देशकको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।