गायक यम बराललाई मल्टिपल माइलोमा पुष्टि, केमोथेरापी उपचार जारी


ब्युटी न्युज नेपाल
काटमाडौँ, २४ असार

चर्चित गायक यम बराललाई रक्त क्यान्सरको एक प्रकार ‘मल्टिपल माइलोमा’ भएको पुष्टि भएपछि उनको उपचार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा जारी छ। अत्यधिक ढाड दुख्ने समस्यापछि उनी अस्पतालको गणेशमान भवनस्थित अर्थोपेडिक वार्डमा भर्ना भएका हुन्।

गायक बरालका भतिजा सञ्जय बरालका अनुसार करिब एक महिनादेखि गरिएको स्वास्थ्य परीक्षण र उपचारपछि उनलाई मल्टिपल माइलोमा भएको चिकित्सकहरूले पुष्टि गरेका हुन्। यो प्लाज्मा कोषबाट विकसित हुने रक्त क्यान्सरको एक प्रकार हो, जसले हड्डीको मज्जामा रहेका स्वस्थ रक्तकोषको उत्पादनमा असर पुर्‍याउन सक्छ।

परिवारका अनुसार प्रारम्भिक अनुमान गरिएजस्तो अवस्था जटिल नरहेको र समयमै उपचार सुरु भएकाले आत्तिनुपर्ने अवस्था छैन। हालसम्म उनलाई केमोथेरापीका दुई चरण पूरा गरिसकिएको छ। उपचारपछि देखिने अत्यधिक थकान वा शरीर कमजोर हुने जस्ता सामान्य दुष्प्रभाव पनि उनीमा खासै नदेखिएको जनाइएको छ।

भतिजा सञ्जय बरालले समयमै उपचार सुरु भएकाले सकारात्मक नतिजाको अपेक्षा गरिएको बताउँदै गायक बराल चाँडै पूर्ण रूपमा स्वास्थ्य लाभ गरेर पुनः सांगीतिक गतिविधिमा फर्किने विश्वास व्यक्त गरेका छन्।

हाल ढाडको पीडा अझै कायम रहेकाले चिकित्सकले उनलाई हिँडडुल नगर्न सल्लाह दिएका छन्। यद्यपि, उनी सामान्य रूपमा बोल्न सक्ने, सबै कुरा स्पष्ट रूपमा सम्झन सक्ने तथा मानसिक अवस्था पनि सामान्य रहेको परिवारले जनाएको छ।