लक्ष्मणको ‘डोपामिन’ लोकार्पित


ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ असार

कामना न्यूज पब्लिकेसन्स् परिसरमा आयोजित कार्यक्रममा विमोचन गरिएको १८ कथासमेटिएको यस संग्रहले मानसिक स्वास्थ्य, मानवीय संवेदना, सामाजिक विभेद, प्रेम, न्याय र जीवन संघर्षलाई मनोवैज्ञानिक दृष्टिकोणबाट प्रस्तुत गरेको छ। बाहिरबाट सामान्य देखिए पनि भित्रभित्रै गहिरो पीडासँग संघर्ष गरिरहेका मानिसहरूको कथा पुस्तकको मुख्य विषय बनेको छ।

पुस्तकमाथि समीक्षा गर्दै समालोचक प्रा.डा. दयाराम श्रेष्ठले ‘डोपामिन’लाई मनोविज्ञान र साहित्यको प्रभावकारी संयोजन भएको कृतिका रूपमा चित्रण गर्नुभयो। उहाँले कथाहरूमा मानसिक द्वन्द्व, हीनताबोध, कुण्ठा, पलायन भावना र सामाजिक यथार्थलाई कलात्मक ढंगले प्रस्तुत गरिएको बताउनुभयो। वरिष्ठ पत्रकार तथा कथाकार श्रीराम सिंह बस्नेतले पनि संग्रह यथार्थमा आधारित, पठनीय र मननीय रहेको धारणा राख्नुभयो।

नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष कपिल काफ्लेले लेखकको अघिल्लो कृति ‘मर्फिन’ले पीडाको पक्ष उजागर गरेको स्मरण गर्दै ‘डोपामिन’ले पीडाभित्र लुकेको आशा र प्रेरणालाई कथामार्फत अभिव्यक्त गरेको उल्लेख गर्नुभयो।

लेखक लक्ष्मण अधिकारीले मानसिक घाउ बोकेका पात्रहरूको वैज्ञानिक आधारसहित कथा प्रस्तुत गर्ने प्रयास गरेको बताउँदै ‘डोपामिन’ मानिसलाई खुसी दिलाउने हार्मोन भएकाले त्यसैबाट पुस्तकको नाम राखिएको जानकारी दिनुभयो। कार्यक्रममा प्रकाशक कामना न्यूज पब्लिकेशन्स्का अध्यक्ष दिरेकलाल श्रेष्ठ र नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाकी अध्यक्ष भगवती तिमल्सिनाले पनि संग्रहले समकालीन नेपाली कथा साहित्यमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो।