पेट्रोलमा २०, डिजेलमा ३० र ग्यासमा १०० रुपैयाँ मुल्य घट्यो


ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ असार

विश्व बजारसँगै नेपालमा पनि डिजेल पेट्रोल, एलपी ग्यासको मुख्ल आज १७ असारबाट लागू हुनेगरी घटेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेखनीय कटौती गर्दै नयाँ दर सार्वजनिक गरेको हो अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै स्वचालित मूल्य प्रणालीअनुसार गरिएको समायोजनपछि पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपी ग्यास सबै सस्तिएका नियमले जनाएको छ ।

निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो। त्यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धन (काठमाडौंका लागि) प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले मूल्य घटाइएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १०० रुपैयाँले कम गरिएको निगमले जनाएको छ।

नयाँ मूल्यसूचीअनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल–मट्टितेल १९५ रुपैयाँमा बिक्री हुनेछ। चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल १९४ रुपैयाँ ५० पैसा तथा डिजेल १९२ रुपैयाँ ५० पैसा कायम गरिएको छ। सुर्खेत र दाङमा पेट्रोल १९६ रुपैयाँ र डिजेल १९४ रुपैयाँ निर्धारण गरिएको छ।

यसैबीच, १४.२ किलोग्रामको एलपी ग्यास सिलिन्डर अब २ हजार ६० रुपैयाँमा उपलब्ध हुनेछ। निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्य तथा अन्तर्राष्ट्रिय बजारको मूल्य प्रवृत्तिलाई आधार मानेर मूल्य समायोजन गरिएको हो। नयाँ मूल्य लागू भएसँगै उपभोक्ताले दैनिक उपभोगका इन्धनमा केही राहत महसुस गर्ने अपेक्षा गरिएको छ।