ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ असार
ललितपुरको जावलाखेलस्थित एनोभा स्किन एण्ड हेयर क्लिनिकले नेपालमा पहिलोपटक अत्याधुनिक ‘ट्रिभेलिनी माम्बा’ हेयर ट्रान्सप्लान्ट डिभाइस सार्वजनिक गरेको छ। कपाल प्रत्यारोपण प्रक्रियालाई थप सटीक, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले ल्याइएको उक्त उपकरण विशेष समारोहबीच अनावरण गरिएको हो।
कार्यक्रममा वरिष्ठ छाला रोग विशेषज्ञ डा. स्मृति श्रेष्ठ, भारतका वरिष्ठ छाला रोग विशेषज्ञ डा. असीम शर्मा, धुलिखेल अस्पताल (काठमाडौं विश्वविद्यालय अस्पताल)को डर्माटोलोजी विभाग प्रमुख डा. मनिषा सिंह, मिस नेपाल अर्थ डा. सरिसा श्रेष्ठ, क्रिकेटर ललित राजवंशी तथा अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
क्लिनिककी सञ्चालिका डा. स्मृति श्रेष्ठका अनुसार ट्रिभेलिनी माम्बा प्रणालीले कपालका फोलिकल (ग्राफ्ट) निकाल्ने क्रममा उच्च नियन्त्रण, न्यून क्षति र उत्कृष्ट गुणस्तर कायम गर्न सहयोग पुर्याउँछ। बिरामीको कपाल र छालाको अवस्थाअनुसार विभिन्न गति र मोड समायोजन गर्न सकिने भएकाले उपचार प्रक्रिया अझ प्रभावकारी बन्ने उनको भनाइ छ।
विश्वका विभिन्न हेयर रिस्टोरेशन केन्द्रहरूमा प्रयोग हुँदै आएको यो आधुनिक प्रविधि नेपालमा भित्रिएसँगै अन्तर्राष्ट्रियस्तरको हेयर ट्रान्सप्लान्ट सेवा उपलब्ध गराउने लक्ष्य क्लिनिकले लिएको जनाएको छ। कपाल झर्ने समस्याबाट पीडित सेवाग्राहीले अब नेपालमै आधुनिक प्रविधिबाट गुणस्तरीय उपचार पाउने विश्वास क्लिनिकले व्यक्त गरेको छ।
कार्यक्रमका क्रममा आयोजित अन्तरक्रियामा नेपालको हावापानी, वातावरणीय प्रदूषण तथा जीवनशैलीका कारण छाला र कपालको स्वास्थ्यमा परेको प्रभाव, त्यसको रोकथाम तथा नयाँ प्रविधिबाट प्राप्त हुने फाइदाबारे विशेषज्ञहरूले आफ्ना धारणा राखेका थिए। क्लिनिकले भविष्यमा पनि विश्वस्तरीय प्रविधि र गुणस्तरीय सेवा विस्तार गर्दै नेपाली सेवाग्राहीलाई आधुनिक उपचार उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।


