मृगस्थलीमा चलचित्रकर्मीले गरे वृक्षरोपण


ब्युटी न्युज नेपाल
काठमाडौं,१३ असार

चलचित्र विकास बोर्डले २६औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा पशुपति क्षेत्रस्थित विश्वरूप मृगस्थलीमा शनिबार बिहान वृक्षारोपण कार्यक्रम गरेको छ । वृक्षारोपण समारोहमा विभिन्न चलचित्रकर्मीहरु सहभागी भएका थिए ।

बोर्डको आयोजना तथा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एफ, एमडी ३२५ नेपालको सहकार्यमा शनिबार बिहान कार्यक्रम आयोजना गरिएको हो । वातावरण संरक्षण, पर्यावरणीय सन्तुलन र हरियाली प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यले कार्यक्रम गरिएको बोर्डले जनाएको छ ।

नेपाल सरकारले सञ्चालन गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’लाई साथ दिँदै बोर्डले उक्त कार्यक्रम गरेको हो । स्वच्छ वातावरणको मौलिक हक, वातावरणीय सन्तुलनसम्बन्धी राज्यको नीति तथा सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य गर्ने नेपालको प्रतिबद्धतालाई स्मरण गराउँदै चलचित्रकर्मीबाट वृक्षारोपण कार्यक्रम गरिएको छ ।

विशिष्ट कलाकारद्वय मिथिला शर्मा, गौरी मल्ल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले बालकलाकार थापासँगै बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोर्ड सदस्य तथा प्रवक्ता सन्तोष बाबु लोहनी, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बा, वरिष्ठ कलाकार रविन्द्र खड्का, कलाकारहरू पूजना प्रधान, मोनिका दाहाल, संगम लभली, रविन्द्र सिंह बानियाँ लगायत सहभागी थिए ।

त्यस्तै चलचित्र संघका पूर्वअध्यक्ष प्रदीप कुमार उदय, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, आदिवासी जनजाति चलचित्र महासंघका कार्यवाहक अध्यक्ष भुइसल लामा, महासंघअन्तर्गतका १४ जातीय चलचित्र संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको पनि उपस्थिति थियो ।

निर्देशक समाजका उपाध्यक्ष सुभाष गजुरेल, संगीतकार मिलन मोक्तान, नेपाल गीतकार संघका अध्यक्ष बसन्त वित्यासी थापा, चलचित्र निर्देशक प्रदीप भट्टराई, निर्देशक साकार पन्तसहित चलचित्रकर्मी र पर्यावरणप्रेमीहरूको सहभागिता रहेको थियो ।