श्रीमती कविता पाण्डेले सापकोटाको तर्फबाट आयोगमा दर्ता गराएको निवेदनमा विमानस्थलबाट आँखामा कालोपट्टी बाँधेर अज्ञात स्थानमा लगिएको, जबर्जस्ती बयान गराइएको, हस्ताक्षर गर्न बाध्य पारिएको र मानसिक यातना दिइएको दाबी गरिएको छ।
================================================
ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ मंसिर
प्रधानमन्त्रीको सचिवालयदेखि सर्वोच्च अदालत, प्रहरी प्रशासन, सुरक्षा निकाय र व्यवसायिक क्षेत्रसम्म पहुँच विस्तार गरेको आरोप लागेका इनम सापकोटा प्रकरणले राज्यका शक्तिशाली संस्थाहरूलाई एकपछि अर्को विवादमा तानेको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको सम्पर्कबाट सुरु भएको अनुसन्धानले उच्च सरकारी अधिकारी, न्यायाधीश, प्रहरी नेतृत्व र व्यवसायीहरूसँगको सम्बन्धबारे गम्भीर प्रश्न उठाइरहेका बेला सापकोटाले भने आफुसँग जबरजस्ती बयान लिएर फसाउन लागिएको भन्दै आफ्नो जीवनरक्षाको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका छन्।
उनकी श्रीमती कविता पाण्डेले सापकोटाको तर्फबाट आयोगमा दर्ता गराएको निवेदनमा विमानस्थलबाट आँखामा कालोपट्टी बाँधेर अज्ञात स्थानमा लगिएको, जबर्जस्ती बयान गराइएको, हस्ताक्षर गर्न बाध्य पारिएको र मानसिक यातना दिइएको दाबी गरिएको छ।
निवेदनमा सापकोटालाई असोज १४ गतेदेखि १५ गते साँझसम्म अज्ञात स्थानमा राखेर विभिन्न व्यक्तिबारे सोधपुछ गरिएको उल्लेख छ। उनले आफूलाई विभिन्न व्यक्तिको नाम लिएर बयान दिन लगाइएको आरोपसमेत लगाएका छन्। यी आरोपबारे सम्बन्धित निकायको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ।
३० वर्षीय सापकोटालाई पूर्वप्रधानन्यायाधीश जबरासँगको सम्पर्कका कारण प्रहरीले अनुसन्धानको दायरामा ल्याएको थियो। असोज ११ गते जबरालाई सुरक्षाका लागि भन्दै टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्याएर मोबाइल जाँच गर्दा सापकोटासँग पटक–पटक कुराकानी भएको विवरण भेटिएको थियो। त्यसपछि प्रहरीले खोजी गरी असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको थियो।
प्रहरी अनुसन्धानमा सापकोटाले अदालतमा मुद्दा मिलाइदिने र प्रहरी अधिकारीको बढुवामा सहयोग गर्ने आश्वासन दिएको देखिने सन्देश फेला परेको दाबी गरिएको छ। यही प्रकरणले मुलुकका पाँच प्रमुख क्षेत्रमा तरंग सिर्जना गरेको छ।
१. प्रहरी संगठनमा नेतृत्व परिवर्तन
सापकोटासँगको सम्पर्क र पूर्वप्रधानन्यायाधीश जबरालाई टेकु पुर्याइएको घटनामा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहालको भूमिकामाथि पनि प्रश्न उठ्यो। उनी राति जबरालाई भेट्न पुगेको र सापकोटासँग संवाद भएको विवरण सार्वजनिक भएपछि उनीमाथि छानबिन सुरु भयो। एआईजी अञ्जनीकुमार पोखरेलको नेतृत्वमा समिति गठन गरियो र पछि दाहाल पदमुक्त भए।

यही घटनाक्रमबीच नेपाल प्रहरीका तत्कालीन आईजीपी दानबहादुर कार्की र प्रधानमन्त्रीको सचिवालयबीच दूरी बढेको विवरण सार्वजनिक भयो। सरकारसँगको असमझदारीपछि कात्तिक १८ गते कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाइयो। उनको स्थानमा मनोज केसी नियुक्त भए। कार्कीले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
२. न्यायपालिकामाथि प्रश्न र छानबिनको माग
सापकोटाको मोबाइलमा सर्वोच्च अदालतका बहालवाला न्यायाधीश हरिप्रसाद फुयाँलसँगको ह्वाट्सएप संवाद भेटिएको विवरण सार्वजनिक भएपछि न्यायपालिका विवादमा तानियो। भदौ १७ गते रोहित गुप्ताको मुद्दा खारेज गर्न प्रधानमन्त्रीको चासो रहेको भन्दै सापकोटाले सन्देश पठाएको बताइएको छ। न्यायाधीश फुयाँलले भने आफूले सन्देश हेर्नुअघि नै इजलासबाट दुई करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश भइसकेको स्पष्ट पारेका छन्।
उनले अन्य चार न्यायाधीशसहित सापकोटालाई भेटेको स्वीकार गरेका छन्। प्रधानन्यायाधीश मनोजकुमार शर्माको नाममा रकम जम्मा भएको भनिएको विवरणसमेत सार्वजनिक भएको छ। तर शर्माले सापकोटासँग प्रत्यक्ष वा अप्रत्यक्ष कुनै सम्पर्क नरहेको बताएका छन्।
यस प्रकरणमा पूर्वन्यायाधीश नवराज थपलिया र व्यवसायी दीपक तिमिल्सिनाको नामसमेत जोडिएको छ। असोज २२ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूको निवासमा छापा मारी कागजात तथा विद्युतीय उपकरण नियन्त्रणमा लिएको थियो। न्यायाधीशमाथि छानबिन र महाभियोगको बहससमेत सुरु भएको छ।
३. प्रधानमन्त्रीको सचिवालय विवादमा
सापकोटा प्रधानमन्त्रीको सचिवालय र राजनीतिक नेतृत्वसम्म कसरी पहुँचमा पुगे भन्ने प्रश्न पनि उठेको छ। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार (कुमार बेन) ले सापकोटाले प्रधानमन्त्री र सचिवालयको नाम प्रयोग गरेर विभिन्न काम तथा कारोबार अघि बढाउने गरेको बताएका थिए।
सापकोटा पक्राउ परेपछि उनको मोबाइल दुई दिनसम्म प्रमुख सल्लाहकार बेनले राखेको विवरण सार्वजनिक भएपछि डिजिटल प्रमाणको सुरक्षा र अनुसन्धानमा सम्भावित हस्तक्षेपबारे प्रश्न उठेको छ। सचिवालयले भने सापकोटाले प्रधानमन्त्रीको नाम दुरुपयोग गरेको बताउँदै आएको छ।
४.व्यवसायी र आर्थिक कारोबारको सञ्जाल
अनुसन्धानमा सापकोटाको सम्पर्क बैंकिङ कसुर तथा सम्पत्ति शुद्धीकरणको आरोपमा थुनामा रहेका व्यवसायी दीपक भट्ट, उनका परिवारका सदस्य र व्यवसायी सुलभ अग्रवालसम्म देखिएको प्रहरी अधिकारीहरूको दाबी छ। भट्टलाई थुनामुक्त गराउने प्रयासमा जबरासम्म सन्देश पुर्याउने माध्यमका रूपमा सापकोटाले काम गरेको आशंका गरिएको छ।
त्यस्तै, विदेशमा कम्पनी र सम्पत्ति रहेको तथा नेपालमा हुने कारोबारको रकम विदेशमा व्यवस्थापन गरिएको हुन सक्ने विषयमा पनि अनुसन्धान भइरहेको विवरण सार्वजनिक भएको छ। विभिन्न राजनीतिक नेता र सुरक्षा अधिकारीसँगको संवादका विवरणसमेत बाहिर आएका छन्। तर सम्पर्क वा नाम जोडिँदैमा कसैको गैरकानुनी संलग्नता प्रमाणित हुँदैन।
५. पत्रकारिता र राजनीतिक वृत्तमा असर
सापकोटा र न्यायाधीश फुयाँलबीचको संवाद नयाँ पत्रिकाले सार्वजनिक गरेपछि समाचार प्रकाशन गर्ने पत्रकारमाथि पक्राउ तथा नियन्त्रणको प्रयास भएको विषयले प्रेस स्वतन्त्रताको बहस चर्कियो। पत्रकारमाथिको कारबाहीको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समेत विरोध गरेको थियो।
यसैबीच प्रकरणमा जोडिएका न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा रास्वपाभित्र मतभेद देखिएको छ। निष्पक्ष छानबिनको मागसँगै प्रमाणबिना कारबाही प्रक्रिया अघि बढाउन नहुने आवाज पनि उठेको छ।
समग्रमा इनम सापकोटा प्रकरण अब एक व्यक्तिको पक्राउ र अनुसन्धानमा मात्र सीमित छैन। राज्यका महत्त्वपूर्ण निकायमा अनौपचारिक पहुँच, बिचौलियाको प्रभाव, आर्थिक कारोबार, न्यायिक निष्पक्षता र प्रहरीको व्यावसायिक स्वतन्त्रतासम्म यसले प्रश्न उठाएको छ।
प्रधानमन्त्रीको सचिवालयदेखि न्यायालय र सुरक्षा निकायसम्म पहुँच विस्तार गर्न सापकोटालाई कसले सहयोग गर्यो ? उनको मोबाइलमा देखिएका संवाद र आर्थिक कारोबारको वास्तविकता के हो ? उनले मानवअधिकार आयोगमा गरेको जीवनरक्षाको माग र लगाएका यातनासम्बन्धी आरोपको सत्यता के हो ? यी सबै प्रश्नको निष्पक्ष अनुसन्धान र प्रमाणमा आधारित निष्कर्षले मात्रै यो प्रकरणको वास्तविकता उजागर गर्नेछ।








