बेनीमा नेपथ्यको गुञ्जियो लोकरक, अमृतले उठाए युवाको विदेश पलायनको मुद्दा


ब्युटी न्युज नेपाल
बेनी, ११ मंसिर

लोकप्रिय सांगीतिक समूह नेपथ्यले बुधबार साँझ म्याग्दीको बेनीमा भव्य सांगीतिक प्रस्तुति दिएको छ। दर्शकले खचाखच भरिएको खुलामञ्चमा गायक अमृत गुरुङले आफ्ना चर्चित गीतमार्फत मनोरञ्जन प्रदान गर्नुका साथै युवाको बढ्दो विदेश पलायन र स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने विषयलाई समेत उठाएका छन्।

कार्यक्रममा ‘नैनाताल’ गीत प्रस्तुत गरेपछि अमृतले लाहुरे परम्परासँग जोडिएको गीतको पृष्ठभूमि सम्झिए। उनले विगतमा काका, मामा र फुपाजुहरू भर्तीमा गएर लड्दा आफ्ना भावना गीतमार्फत व्यक्त गर्ने गरेको बताए। अहिले भने सबै उमेर समूहका नागरिकसँगै छोरीहरू पनि विदेशिन बाध्य हुनु दुःखद भएको उनको भनाइ थियो।

धौलागिरिको काख र कालीगण्डकीको किनारमा रहेको सुन्दर थातथलो छाडेर युवाहरू विदेशिनुपर्ने अवस्था अन्त्य गर्न राज्यले स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्नुपर्ने उनले बताए। उनको यो अभिव्यक्तिलाई दर्शकले ताली बजाएर स्वागत गरेका थिए।

‘कोशीको पानी’, ‘शिरफूल शिरैमा’ लगायतका गीतले पनि दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो। गीत प्रस्तुतिका क्रममा अमृतले स्थानीय संस्कृति, लोकभाका र गीत सिर्जनाका रोचक अनुभवसमेत सुनाएका थिए।

कन्सर्टमा फ्रान्सेली नागरिकदेखि विभिन्न जिल्लाबाट आएका संगीतप्रेमीको सहभागिता थियो। चित्रकार विशाल ठकुरीले अमृतको चित्र बोकेर कार्यक्रममा सहभागिता जनाएका थिए। बेनीका नगरप्रमुख सुरज केसीले कन्सर्टले बजारको चहलपहल, पर्यटन र स्थानीय व्यापारमा सकारात्मक प्रभाव पारेको बताए। ध्रुव लामा, सुविन शाक्य, नीरज गुरुङ, शान्ति रायमाझी र दिनेशराज रेग्मीको वाद्यवादनमा अमृतले प्रस्तुति दिएका थिए।

नेपथ्यको अबको कार्यक्रम शनिबार तनहुँको बेलचौतारास्थित भानुभक्त क्याम्पस मैदानमा हुनेछ। त्यसपछि ब्यान्ड अस्ट्रेलिया प्रस्थान गर्नेछ। डिसेम्बर ७ मा एडिलेडबाट सुरु हुने यात्रामा मेलबर्न, सिड्नी र पर्थमा पनि प्रस्तुति रहनेछ।