प्रेममा बाधक बन्दै विनोद न्यौपाने, ‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक,


ब्युटी न्युज नेपाल
काठमाडौँ, १० मंसिर

‘पूर्णबहादुरको सारंगी’बाट दर्शकमाझ लोकप्रिय बनेका निर्देशक सरोज पौडेलले आफ्नो नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’मार्फत फेरि सामाजिक तथा प्रेमकथामा आधारित फरक परिवेशको कथा प्रस्तुत गर्ने भएका छन्। प्रदर्शनको तयारीमा रहेको चलचित्रको चार मिनेट लामो ट्रेलर बिहीबार काठमाडौँस्थित बिग मुभिजमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ।

सार्वजनिक ट्रेलरमा प्रेममा उत्पन्न हुने सामाजिक अवरोध, पुरुष अहंकार र त्यसले महिलाको जीवनमा पार्ने प्रभावलाई मुख्य विषय बनाइएको छ। विशेषगरी तत्कालीन नेपाली समाजमा पितृसत्तात्मक सोच र पुरुषको अहंकारका कारण महिलाले भोग्नुपरेको नियतिलाई चलचित्रले प्रस्तुत गर्ने संकेत ट्रेलरले गरेको छ।

पिरियड ड्रामा जनरामा निर्माण भएको चलचित्रको ट्रेलरमा अभिनेता विनोद न्यौपाने ‘डिल्लीराम’को भूमिकामा प्रेमकथाको प्रमुख बाधकका रूपमा देखिएका छन्। विजय बरालले ‘बाबुराम’ र अञ्जना बराइलीले ‘लक्ष्मी’को भूमिका निर्वाह गरेका छन्। बाबुराम र लक्ष्मीबीचको प्रेममा डिल्लीरामले सिर्जना गर्ने अवरोध र त्यसले उनीहरूको जीवनमा ल्याउने उतारचढावलाई ट्रेलरले कौतूहलपूर्ण ढङ्गले प्रस्तुत गरेको छ।

‘पूर्णबहादुरको सारंगी’पछि अभिनेता विजय बराल र निर्देशक सरोज पौडेलबीच भएको यो दोस्रो सहकार्य हो। अघिल्लो चलचित्रबाट दर्शकको मन जितेको यो जोडीले यसपटक भने फरक समय र परिवेशको कथा लिएर आएको छ। यसअघि सार्वजनिक टिजर र गीतबाट पनि चर्चा बटुलिसकेको चलचित्रको ट्रेलरले दर्शकमाझ थप उत्सुकता बढाउने अपेक्षा निर्माण पक्षको छ।

सबिन अधिकारी र वसन्त न्यौपानेको पटकथा तथा संवाद लेखन रहेको चलचित्रको कथा निर्देशक पौडेल स्वयंले लेखेका हुन्। चलचित्रमा विजय बराल, अञ्जना बराइली र विनोद न्यौपानेका अतिरिक्त उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राज कटुवाल, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय रहेको छ।

सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन्। राकेश खड्का र श्याम मगर सहनिर्माता, सुमन रञ्जित एसोसिएट निर्माता तथा अनिश अधिकारी लाइन निर्माता रहेका छन्। दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा पदमबहादुर श्रेष्ठ ‘बाबु’को छायाङ्कन, सुरेन्द्र पौडेलको सम्पादन र विशाल घिमिरेको क्रिएटिभ निर्देशन रहेको छ। चलचित्रमा प्रशान्त सिवाकोटीको सङ्गीत रहेको छ।

चलचित्र मंसिर १८ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ। यसको वितरण नेसनल सिने ग्रुप नेपालले गर्दैछ भने बिग मुभिज थिएटर पार्टनर र ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा जोडिएका छन्।