ब्युटी न्युज नेपाल
काठमाडौँ, १० मंसिर
अभिनेत्री पूजा शर्माको पहिलो दृश्य छायाङ्कन गर्दै चलचित्र ‘सेतो कोट’को छायाङ्कन सुरु गरिएको छ। मिनु शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायाङ्कन बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको प्राङ्गणबाट शुभारम्भ गरिएको हो।
निर्माण टिमले क्यामेरा पूजा गर्दै चलचित्रको छायाङ्कन सुरु गरेको हो। शिवम अधिकारीको लेखन तथा निर्देशन रहने चलचित्रको छायाङ्कन काठमाडौँ र मकवानपुरका विभिन्न स्थानमा गरिनेछ। निर्माण पक्षका अनुसार चलचित्रको छायाङ्कन पुसको पहिलो सातासम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
मिनु शर्मा प्रोडक्सनको प्रस्तुति रहने चलचित्रका निर्माता मिनु शर्मा ‘सपना’ र सन्देश थापा ‘काजी’ हुन् भने फणीन्द्र तामाङ कार्यकारी निर्माता रहेका छन्।
चलचित्रमा पूजा शर्मा, नीर शाह, अशोक दर्जी, सुमित्रा दाहाल, पवन खतिवडा ‘बाबा’, विष्णु सापकोटा ‘हर्के हवलदार’, सुशान्त कुमार श्रेष्ठ, साम्राज्ञी थापा, सम्मान थापा, रामेश्वर रिजाल, दीपेन्द्र भण्डारी, कपिल खड्का, सुप्रिया शर्मा, फलित राई, सुरेश थापा मगर, सरिता अधिकारी र शङ्कर श्रेष्ठलगायत कलाकारको अभिनय रहनेछ।
चलचित्रको छायाङ्कन सौरभ लामाले गर्नेछन् भने सम्पादन बन्दे प्रसादको रहनेछ। यसैगरी, सङ्गीत स्टिभ सङ्करले तयार गर्नेछन्। चलचित्रको हेड अफ प्रोडक्सनमा अरुण रेग्मी, मुख्य सहायक निर्देशकमा नवराज शर्मा, बजार व्यवस्थापनमा भावेश ढकाल, प्रचार सामग्रीमा सञ्जीव खड्की र कला निर्देशनमा डुक्राज रहेका छन्। त्यस्तै, शृङ्गारको जिम्मेवारी स्वस्तिका, भान्सा व्यवस्थापन कुमार शाह र पोसाक व्यवस्थापन रविले सम्हाल्नेछन्। सहायक निर्देशकमा दीप्त प्रकाश अधिकारी र सहनिर्देशकमा विनिशा सेवा रहेका छन्।








