दानबहादुरलाई तत्काल आईजीपीमा पुनर्बहालीको अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार


ब्युटी न्युज नेपाल प्रमुख
काठमाडौँ, ९ मंसिर

प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीलाई तत्काल पुनर्बहाली गर्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। बुधबार न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको हो।

यद्यपि, सर्वोच्चले प्रहरी संगठनको नेतृत्व र नियन्त्रण प्रणाली (चेन अफ कमान्ड) सँग सम्बन्धित विषयको महत्त्व, गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राख्दै मुद्दाको शीघ्र सुनुवाइ गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

अदालतले विपक्षीहरूबाट लिखित जवाफ प्राप्त भएपछि वा त्यसका लागि तोकिएको अवधि समाप्त भएपछि सात दिनभित्र मुद्दालाई पेसीमा चढाउन आदेश दिएको छ। साथै, पेसी नहटाउने पूर्वसूचना दुवै पक्षलाई दिनसमेत आदेशमा भनिएको छ।

कार्कीले आफूलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले आफूलाई पूर्ववत् आईजीपी पदमा पुनर्बहाली गर्न तथा नयाँ नियुक्ति पाएका मनोजकुमार केसीलाई आईजीपीका रूपमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश माग गरेका थिए।

यसअघि गत सोमबार, ८ मंसिरका लागि पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन। नवनियुक्त प्रहरी महानिरीक्षक मनोजकुमार केसीलाई अदालतको म्याद तामेल नभएको भन्दै नेपाल प्रहरीका तर्फबाट बहसमा सहभागी कानुन व्यवसायीले पुनः म्याद जारी गर्न माग गरेका थिए।

त्यसपछि अदालतले प्रहरी प्रधान कार्यालयका प्रतिनिधिमार्फत केसीलाई म्याद बुझाउन आदेश दिएको थियो। साथै, अर्को सुनुवाइमा मन्त्रिपरिषद्को निर्णयसहितका सक्कल कागजात पेस गर्न पनि आदेश गरेको थियो।

अदालतले सरकारको धारणा स्पष्ट पार्न महान्यायाधिवक्ता नारायणदत्त कँडेललाई समेत उपस्थित हुन भनेको थियो। अन्तरिम आदेश जारी नभएसँगै तत्कालका लागि प्रहरी महानिरीक्षकका रूपमा मनोजकुमार केसीको नियुक्ति र कामकाज रोकिएको छैन। अब सर्वोच्च अदालतमा मुद्दाको नियमित सुनुवाइ अघि बढ्नेछ।