‘ककाकिकी’को भव्य प्रिमियर, सेन्सरले दियो युनिभर्सल सर्टिफिकेट


ब्युटी न्युज नेपाल 
काठमाडौँ, ९ मंसिर

नेपाली हास्यप्रधान चलचित्र ‘ककाकिकी’को भव्य प्रिमियर सम्पन्न भएको छ। मंगलबार साँझ काठमाडौँको सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजित प्रिमियरमा चलचित्रका कलाकार तथा निर्माण टिमसँगै नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार, निर्माता, निर्देशक र अन्य चलचित्रकर्मीको उल्लेख्य उपस्थिति थियो।

प्रिमियरमा चलचित्र हेरेपछि सहभागी अधिकांश चलचित्रकर्मीले यसको कथावस्तु, प्रस्तुतीकरण, कलाकारको अभिनय र मनोरञ्जनात्मक पक्षको प्रशंसा गरेका थिए। विशेषगरी निर्देशकद्वय बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले फरक शैलीमा चलचित्र प्रस्तुत गर्न गरेको प्रयास र मेहनतको प्रशंसा भएको थियो।

हास्य विधामा निर्माण भएको चलचित्रका विभिन्न दृश्यमा दर्शक तथा चलचित्रकर्मीको हाँसो गुञ्जिएको थियो। प्रिमियरमा सहभागी चलचित्रकर्मीले चलचित्रको कथालाई प्रस्तुत गरिएको शैली र कलाकारहरूको अभिनय रुचाएका थिए। उनीहरूले ‘ककाकिकी’ले आमदर्शकको मन जित्ने विश्वाससमेत व्यक्त गरेका थिए।

प्रिमियरमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, बसुन्धरा भुसाल, चैत्यदेवी, राजाराम पौडेल र किरण केसीको उपस्थिति थियो। त्यस्तै, निर्माता तथा निर्देशक मिलन चाम्स, आकाश अधिकारी, अशोक शर्मा र शोभित बस्नेत, कलाकार जयकिशन बस्नेत, विल्सन विक्रम राई तथा गायक शिव परियारलगायत चलचित्रकर्मी पनि सहभागी थिए।

निर्देशक बिक्की अग्रवालले चलचित्रकर्मीबाट प्राप्त सकारात्मक प्रतिक्रियाले आफूहरू उत्साहित भएको बताए। चलचित्र निर्माणका क्रममा आफ्नो टिमले निकै मेहनत गरेको उल्लेख गर्दै उनले अब दर्शकको प्रतिक्रियाको प्रतीक्षामा रहेको बताए। आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्रलाई दर्शकले दिने प्रतिक्रियालाई आफूहरूले सहर्ष स्वीकार गर्ने उनको भनाइ थियो।

त्यस्तै, चलचित्रका कलाकार तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा र महेश त्रिपाठीलगायतले पनि प्रिमियरमा प्राप्त प्रतिक्रियाले आफूहरूलाई उत्साहित बनाएको बताए। अब चलचित्र प्रदर्शनपछि दर्शकबाट आउने प्रतिक्रियाको प्रतीक्षामा रहेको उनीहरूको भनाइ थियो।

चलचित्र ‘ककाकिकी’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। योसँगै चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्। हास्यप्रधान विषयवस्तुमा निर्माण भएकाले परिवारका सबै सदस्यले एकसाथ बसेर मनोरञ्जन लिन सक्ने निर्माण पक्षको विश्वास छ।

चलचित्रमा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बीटी कान्छा), एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारको अभिनय रहेको छ।

बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको संयुक्त निर्देशनमा बनेको चलचित्रका निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुन्। चलचित्रको कन्सेप्ट सुमन अग्रवालको हो भने कथा तथा पटकथा बिक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले तयार पारेका हुन्। विश्वास तिमल्सिना (बीटी कान्छा)ले स्क्रिप्ट डक्टरको जिम्मेवारी सम्हालेका छन्।

चलचित्रको छायांकन सुदीप बरालले गरेका हुन्। मुख्य सहायक निर्देशकमा अनिश बुढाथोकी र सहायक निर्देशकमा विशाल राई रहेका छन्। मेकअपको जिम्मेवारी अनिश तामाङले तथा कस्ट्युम डिजाइनको जिम्मेवारी सुमन परियारले सम्हालेका छन्। आगामी शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको ‘ककाकिकी’लाई प्रिमियरमा प्राप्त प्रतिक्रियाले निर्माण टिम थप उत्साहित देखिएको छ।