फागुन १४ गतेदेखि प्रदर्शनमा आउने ‘आशा’को फर्स्टलुक सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ मंसिर

नेपाली चलचित्र ‘आशा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। उडान स्टुडियोको प्रस्तुतिमा निर्माण भएको चलचित्रको पोस्टरमा मुख्य कलाकार महेश त्रिपाठी, अञ्जना बराइली र आशान्त शर्मालाई प्रस्तुत गरिएको छ। पारिवारिक कथामा आधारित चलचित्रको पोस्टरले यसको विषयवस्तुबारे दर्शकमाझ कौतुहलता सिर्जना गरेको छ।

रोयल भीमसेनले तयार पारेको पोस्टरमा एउटा घरको दृश्य देखाइएको छ। घरभित्र अभिनेता शुशांक मैनालीको तस्बिरमा माला लगाइएको छ भने आशान्त शर्मा पण्डितको भूमिकामा देखिएका छन्। महेश त्रिपाठी किरियापुत्रीका रूपमा प्रस्तुत छन्। अभिनेत्री अञ्जना बराइली भने घरको ढोकाबाट चियाएर हेरिरहेकी छन्। पोस्टरले चलचित्रको कथावस्तुबारे केही संकेत गरे पनि यसले दर्शकमाझ विभिन्न प्रश्नसमेत उब्जाएको छ।

चलचित्रकी निर्मात्री शर्मिला थापाले कथाको विषयवस्तु र भावनाअनुसार नै पोस्टर तयार पारिएको बताइन्। उनले चलचित्र पूर्ण रूपमा पारिवारिक कथामा आधारित रहेको जानकारी दिँदै परिवारका सबै सदस्यले हेर्न र मनन गर्न सक्ने विषयवस्तु समेटिएको बताइन्।

‘चलचित्र पूर्ण रूपमा पारिवारिक कथामा तयार भएको छ। यो एउटा परिवारले हेर्ने र मनन गर्नुपर्ने चलचित्र बनेको छ। हामीले विषयप्रधान कथासँगै चलचित्रलाई मनोरञ्जनात्मक शैलीमा पनि तयार गरेका छौँ। यसले हलसम्म पुग्ने दर्शकको समय र पैसाको सदुपयोग गर्नेछ भन्ने विश्वास छ,’ उनले भनिन्।

निर्माण पक्षका अनुसार चलचित्रको प्रदर्शन मिति आगामी फागुन १४ गतेलाई तय गरिएको छ। वितरक तथा प्रदर्शकसँगको छलफलपछि उक्त मितिमा चलचित्र प्रदर्शन गर्ने निर्णय गरिएको निर्मात्री थापाले जानकारी दिइन्।

निर्देशक राजीव गुरुङको कथा तथा निर्देशनमा बनेको चलचित्रमा शुशांक मैनाली, महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मीलगायतको अभिनय रहेको छ। बालकलाकार चिराग श्रेष्ठ र काश्वी भण्डारी पनि चलचित्रमा देखिनेछन्।

काठमाडौँ उपत्यकासहित नमोबुद्ध र धुलिखेल आसपासका स्थानमा चलचित्रको छायाङ्कन गरिएको हो। चलचित्रको वितरण अधिकार रिच इन्टरटेन्मेन्टले लिएको छ।

चलचित्रमा सुदाम सीकेले स्क्रिप्ट सुपरभाइजर तथा कास्टिङ निर्देशकको जिम्मेवारी सम्हालेका छन्। नरेन्द्र मैनालीको छायाङ्कन, युग भुसाल र एसडी योगीको सङ्गीत, किशोर आचार्यको ध्वनि संयोजन तथा लोकेश बज्राचार्यको सम्पादन रहेको छ। त्यस्तै, सोनाली शिल्पकारले मेकअप तथा हेयरको जिम्मेवारी सम्हालेकी छन्।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक, अरुण रेग्मी प्रोडक्सन म्यानेजर र रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनरका रूपमा रहेका छन्। चलचित्रको प्रचारप्रसार डिजाइन रोयल भीमसेनको ट्राइडेन्ट कन्सेप्टले तयार पारेको हो भने करण श्रेष्ठले रिच इन्टरटेन्मेन्टमार्फत वितरणको जिम्मेवारी सम्हाल्नेछन्।