‘कबड्डी ५’को व्यापार १३ करोडमाथि, बाटुलो जुनले नघायो ८ करोड


ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ मंसिर

हाल प्रदर्शन भइरहेका नेपाली चलचित्रको आइतबार रातिसम्मको बक्स अफिस विवरण चलचित्र विकास बोर्डले सार्वजनिक गरेको छ। बोर्डको विवरणअनुसार व्यापारका हिसाबले रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ५’ अग्रस्थानमा रहेको छ। प्रदर्शनको एक महिना पूरा गर्दा यस चलचित्रले घरेलु बजारमा १३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ।

बोर्डले सार्वजनिक गरेको विवरणअनुसार ‘कबड्डी ५’ले आइतबार रातिसम्म १३ करोड २६ हजार ९३७ रुपैयाँ ग्रस व्यापार गरेको छ। यस अवधिमा चलचित्रका ४ लाख २४ हजार ८८२ टिकट बिक्री भएका छन्। चलचित्रमा दयाहाङ राई, विपिन कार्की, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ र सिर्जना गुरुङलगायतको अभिनय रहेको छ।

‘कबड्डी ५’पछि सर्वाधिक व्यापार गर्ने चलचित्रको सूचीमा ‘पेन्सन पट्टा’ दोस्रो स्थानमा छ। दसैँअघि प्रदर्शनमा आएको माओत्से गुरुङ निर्देशित यो चलचित्र अझै केही हलमा प्रदर्शन भइरहेको छ। आइतबार रातिसम्म ‘पेन्सन पट्टा’ले ३ लाख ६४ हजार ८०८ टिकट बिक्री गर्दै नेपालबाट १० करोड ३६ लाख ८३ हजार ३८ रुपैयाँ ग्रस व्यापार गरेको छ। ‘कबड्डी ५’ र ‘पेन्सन पट्टा’ दुवै चलचित्रमा दxयाहाङ राई मुख्य भूमिकामा छन्।

अनमोल केसीको महत्त्वाकाङ्क्षी चलचित्र ‘बाटुलो जून’ले प्रदर्शनको ११ दिनमा ८ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। कात्तिक २६ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले आइतबार रातिसम्म घरेलु बजारमा ८ करोड ३५ लाख ३७ हजार ९१७ रुपैयाँ ग्रस कमाइ गरेको छ। चलचित्रका २ लाख ६९ हजार ५४४ टिकट बिक्री भएका छन्।

वितरकहरूले यस चलचित्रले घरेलु बजारबाट १० करोड रुपैयाँसम्मको व्यापार गर्ने अनुमान गरेका छन्। पहिलो साता दैनिक एक करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको चलचित्रको कमाइ दोस्रो सातामा भने घटेर दैनिक २० लाख रुपैयाँभन्दा तल झरेको छ। चलचित्रमा अनमोल केसीसँगै प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको छ।

त्यस्तै, दसैँको फूलपातीका अवसरमा गत असोज ३० गतेदेखि प्रदर्शनमा आएको चन्द्र पन्त निर्देशित चलचित्र ‘आ बाट आमा २’ले आइतबारसम्म ७ करोड १८ हजार ८०२ रुपैयाँ ग्रस व्यापार गरेको छ। यस वर्षको दसैँमा प्रदर्शनमा आएका तीन चलचित्रमध्ये ‘आ बाट आमा २’ सर्वाधिक व्यापार गर्ने चलचित्र बनेको छ। पल शाह मुख्य भूमिकामा रहेको यस चलचित्रले स्टार कलाकारको बाक्लो उपस्थिति रहेका ‘१२ गाउँ २’ र ‘छ माया छपक्कै २’लाई व्यापारमा पछि पारेको छ। ‘१२ गाउँ २’मा विराज भट्ट र समीर भट्ट तथा ‘छ माया छपक्कै २’मा दीपकराज गिरीलगायतका कलाकारको अभिनय रहेको छ।

यद्यपि, चलचित्र विकास बोर्डले यस साता दसैँमा प्रदर्शनमा आएका अन्य दुई चलचित्र ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’को व्यापार विवरण सार्वजनिक गरेको छैन। बोर्डको पछिल्लो विवरणमा यी चलचित्र समावेश नहुनुले दुवै चलचित्रको प्रदर्शन देशभरका हलमा बन्द भइसकेको संकेत गर्छ।

यसैगरी, असोज ९ गते प्रदर्शनमा आएको हरिवंश आचार्य अभिनीत चलचित्र ‘बाः एक योद्धा’ले ५१ दिन मनाइसक्दा पनि केही हलमा प्रदर्शनलाई निरन्तरता दिइरहेको छ। चलचित्रले हालसम्म ३ करोड ५७ लाख ६९ हजार ४४१ रुपैयाँ ग्रस कमाइ गरेको छ। यसका १ लाख २८ हजार २७५ टिकट बिक्री भएका छन्।

गत कात्तिक २० गतेदेखि प्रदर्शनमा आएको वसन्त निरौला निर्देशित चलचित्र ‘पाँच पाण्डव’को व्यापार भने अपेक्षाअनुसार हुन सकेको छैन। प्रदर्शनको १७ दिनमा चलचित्रले जम्मा ४५ लाख २२ हजार ३८८ रुपैयाँ ग्रस कमाइ गरेको छ। हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, इभा गिरी, दीपाश्री निरौला र महेश त्रिपाठीजस्ता कलाकारको अभिनय रहे पनि चलचित्रले दर्शकको अपेक्षित साथ पाउन सकेन।