भीमफेदी सुमो दुर्घटनाका मृतक तीनै जना, घाइतेहरु ७ जनाकै पहिचान खुल्यो


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ मंसिर

मकवानपुरको त्रिभुवन राजपथअन्तर्गत भीमफेदी गाउँपालिका–१ भैँसे नजिक सुमो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। हेटौँडाबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो बिहीबार बिहान करिब ८ः५५ बजे अनियन्त्रित भएर सडकबाट करिब २० देखि २५ मिटर तल खोलामा खसेको थियो। दुर्घटनामा मृत्यु हुने तीनै जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी रौतहटको चन्द्रपुर नगरपालिका–४ का ५० वर्षीय बमबहादुर वाइबा र २२ वर्षीया जेशिका तिमल्सिनाको मृत्यु भएको छ। त्यसैगरी चन्द्रपुरकै २५ वर्षीया अनुसा लामाले पनि ज्यान गुमाएकी छन्।

दुर्घटनामा परी चन्द्रपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज, १५ वर्षीया सुमिना थिङ, चन्द्रपुर–४ का ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रपुर–३ की १६ वर्षीया शिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र चन्द्रपुर–४ का १९ वर्षीय बय हाङ रानामगर घाइते भएका छन्।

दुर्घटनालगत्तै स्थानीय बासिन्दा र प्रहरी चौकी भैँसेको टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धारमा खटिएको थियो। उद्धार गरिएका सबै घाइतेलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको जनाइएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण हेडक्वार्टर मकवानपुरबाट सशस्त्र प्रहरी उपरीक्षक निबनकुमार खड्काको कमान्डमा ११ सदस्यीय टोली परिचालन गरिएको थियो। उक्त टोली बिहान ९ः०५ बजे घटनास्थलतर्फ प्रस्थान गरेको थियो। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।