अनमोल र प्रिन्सीको प्रेमकथा समेटिएको ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ कात्तिक

अभिनेता अनमोल केसी र नवअभिनेत्री प्रिन्सी खतिवडा अभिनीत चलचित्र ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक भएको छ। कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको निर्माण पक्षले प्रदर्शनको एक साताअघि ट्रेलर सार्वजनिक गर्दै प्रचारप्रसारलाई तीव्रता दिएको हो।

सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य पात्रहरूको चरित्र, कथावस्तु र परिवेशलाई प्रस्तुत गरिएको छ। विशेषगरी सुपरस्टारको छवि बनाएका अनमोल केसी पहिलोपटक ग्रामीण परिवेश र चरित्रमा देखिएका छन्। सहरी परिवेशमा हुर्किएका अनमोलले चलचित्रमा काम गर्ने क्रममा नेपाली समाज, संस्कृति र ग्रामीण जीवनलाई नजिकबाट बुझ्ने अवसर पाएको बताएका छन्।

चलचित्रमा करिब ४० वर्षअघिको नेपाली समाजको परिवेश र दुई पुस्ताको प्रेमकथालाई एकसाथ प्रस्तुत गरिएको छ। तत्कालीन समयको कथामा अभिनेता भुवन केसी र अभिनेत्री गरिमा पन्त देखिएका छन् भने नयाँ पुस्ताको प्रेमकथालाई अनमोल केसी र प्रिन्सी खतिवडामार्फत प्रस्तुत गरिएको छ।

ट्रेलरमा पात्रहरूको प्रस्तुति, पार्श्वध्वनि, छायाङ्कन र सम्पादन पक्षले दर्शकको ध्यान आकर्षित गरेको छ। ट्रेलर सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको चासो बढेको निर्माण पक्षले जनाएको छ।

सनराइज पिक्चर्स प्रालि र भविष्य फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता जिया केसी र भविष्य खड्का हुन्।

विवेक थापा सहनिर्माता रहेको चलचित्रमा नेन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेअर राई, श्वेता मिश्र, सुजन भाइ, सविन कट्टेल, सिद्धार्थ सिंह, अमितेश शाह, हीना नगरकोटी र संगी अधिकारी पोखरेललगायत कलाकारको अभिनय रहेको छ।

चलचित्रको सम्पादन कृष्ण भण्डारीले गरेका छन्। कथा लेखनमा सामीप्यराज तिमल्सेनासँग सरिन पोखरेलले सहकार्य गरेका छन्। रोमन बज्राचार्यको पार्श्वसङ्गीत रहेको चलचित्रका एसोसिएट निर्देशक प्रदीप श्रेष्ठ हुन्।

प्रेम, पारिवारिक सम्बन्ध र दुई पुस्ताको भावनात्मक यात्रालाई समेटेको ‘बाटुलो जून’ कात्तिक २६ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ।