‘पाँच पाण्डव’ निर्धारित मितिमै प्रदर्शन हुने


ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ कात्तिक

चलचित्र ‘पाँच पाण्डव’लाई प्रदर्शनमा रोक लगाउने गृह मन्त्रालयको आदेश आए पनि निर्माण पक्षले पूर्वनिर्धारित मितिमै चलचित्र प्रदर्शन गर्ने अडान लिएको छ। निर्माण पक्षले बुधबार बेलुका गृह मन्त्रालयबाट चलचित्र रोक्न आदेश आएको भए पनि बिहीबार विज्ञप्ति जारी गर्दै शुक्रबार अर्थात् कात्तिक २० गतेदेखि देशभरका सिनेमा हलमा चलचित्र प्रदर्शन हुने स्पष्ट पारेको छ।

निर्माण पक्षले जारी गरेको विज्ञप्तिमा चलचित्र पूर्वनिर्धारित मिति कात्तिक २० गतेदेखि नै देशभरका सम्पूर्ण हलमा यथावत् प्रदर्शन हुने उल्लेख छ। सेन्सर प्रक्रिया पूरा भइसकेको चलचित्रको प्रदर्शन नरोकिने भन्दै निर्माण पक्षले आफ्नो निर्णय सार्वजनिक गरेको हो।

निर्माण टिमले चलचित्रले कुनै पनि धर्म, धार्मिक आस्था वा धार्मिक स्थलप्रति चोट पुर्‍याउने, अपमान गर्ने अथवा अवहेलना गर्ने उद्देश्य नराखेको पनि स्पष्ट पारेको छ। सबै धर्म, संस्कृति र आस्थाप्रति आफूहरूको उच्च सम्मान रहेको जनाउँदै चलचित्रप्रति दर्शकले देखाएको माया, विश्वास र सद्भावप्रति आभार व्यक्त गरेको छ।

चलचित्रको अग्रिम टिकट बुकिङ बुधबारदेखि नै खुला भइसकेको छ। वसन्त निरौलाको निर्देशनमा तयार भएको ‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन्। यसैगरी दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेललगायत कलाकारको पनि अभिनय रहेको छ।

काली रानी फिल्मस्को ब्यानरमा निर्मित चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ र निर्माता काली रानी श्रेष्ठ हुन्। चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका छन्। लेखक पौडेलका अनुसार यो चलचित्र सामाजिक कथावस्तुमा आधारित छ। महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको उनको भनाइ छ।

श्याम तामाङको छायाङ्कन रहेको चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा रङ्ग संयोजन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी तथा अर्जुन पोखरेलको सङ्गीत रहेको छ। उत्तम न्यौपानेको ध्वनि संयोजन, सुजिल कर्माचार्यको पृष्ठभूमि सङ्गीत र पुकार धिमालको दृश्य प्रभाव रहेको चलचित्रमा दर्शकले डल्बी एटमस ध्वनि प्रविधिको अनुभव गर्न पाउने निर्माण पक्षले जनाएको छ।

तिहारको अवसर पारेर कात्तिक २० गते (नोभेम्बर ६) देखि प्रदर्शनमा आउन लागेको चलचित्रको डिजिटल साझेदार ओएसआर डिजिटल हो। चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्दैछ।

तस्बिर : बद्री थापा, ब्युटी न्युज नेपाल