सेन्सर पास भएको ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृह मन्त्रालयबाट निर्देशन, निर्माण पक्ष असन्तुष्ट


ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ कात्तिक

केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरिसकेको चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृह मन्त्रालयबाट निर्देशन आएको निर्माण पक्षले जनाएको छ। कात्तिक २० गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्रको बुकिङसमेत रोक्न निर्देशन आएको खबरले निर्माण टोली आश्चर्यमा परेको छ।

चलचित्रका निर्देशक वसन्त निरौलाका अनुसार गृहसचिवले सञ्चार सचिवलाई फोन गरेर चलचित्रको प्रदर्शन रोक्न निर्देशन दिएका छन्। सञ्चार मन्त्रालयबाट निर्माण पक्षलाई फोन गरी प्रदर्शन रोक्ने पत्र तयार भइरहेको र पत्र लिन आउन भनिएको उनले जानकारी दिए।

निरौलाले सञ्चारकर्मीसँग कुरा गर्दै गृह मन्त्रालयको निर्देशनपछि चलचित्रको प्रदर्शन र बुकिङ रोक्ने प्रक्रिया अघि बढाइएको आफूले जानकारी पाएको बताए। बुधबार बिहान मात्रै केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेको थियो। यससँगै सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने प्रमाणपत्र पाएको चलचित्रको प्रदर्शन रोक्न खोजिएपछि निर्माण पक्षले असन्तुष्टि जनाएको छ।

हिन्दु धर्मसँग सम्बन्धित केही संघसंस्थाले चलचित्रमा पाँच पाण्डव र द्रौपदीलाई गलत रूपमा चित्रण गरिएको आरोप लगाउँदै प्रदर्शन रोक्न माग गरेका थिए। उनीहरूले सुरुमा चलचित्र विकास बोर्ड र त्यसपछि सञ्चार मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए। यद्यपि, चलचित्र जाँच समितिले धार्मिक आस्थामा असर नपर्ने ठहरसहित युनिभर्सल सर्टिफिकेट दिएको निर्माण पक्षको भनाइ छ।

चलचित्रको फर्स्टलुक पोस्टरमा हरिवंश आचार्यलाई युधिष्ठिर, जितु नेपाललाई भीम, आर्यन सिग्देललाई अर्जुन, महेश त्रिपाठीलाई नकुल र सुशील सिटौलालाई सहदेवका रूपमा प्रस्तुत गरिएको छ। इभा गिरीलाई द्रौपदीका रूपमा चित्रण गरिएको चर्चा भए पनि उनले आफू द्रौपदीको भूमिकामा नरहेको स्पष्ट पारिसकेकी छन्। सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। श्याम तामाङको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ।