कल्पना पटवारीको स्वरमा शर्मिलाले ल्याइन छठ गीत ‘करीले परबिया’


ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ कात्तिक

भारतीय चर्चित गायिका कल्पना पटवारीको स्वरमा सजिएको भोजपुरी छठ गीत ‘करीले परबिया’ सार्वजनिक भएको छ। आगामी छठपर्वलाई लक्षित गरी निर्माण गरिएको गीतमा मिथिला संस्कृति, छठपर्वका धार्मिक विधि तथा जनकपुरधामका प्रसिद्ध धार्मिक स्थललाई विशेष रूपमा प्रस्तुत गरिएको छ।

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यतामा मंगलबार साँझ गीत सार्वजनिक गरिएको हो। फिल्म निर्मात्री तथा समाजसेवी शर्मिला थापाले निर्माण गरेको गीत उडान इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीत हेरेपछि आयोजित कार्यक्रममा मुख्यमन्त्री यादवले गीतको प्रशंसा गर्दै मधेशको धर्म, संस्कृति र परम्परालाई संगीतका माध्यमबाट प्रचारप्रसार गर्ने प्रयास सराहनीय रहेको बताए। उनले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक कामलाई निरन्तरता दिन आग्रह गर्दै कलाकार तथा संस्कृति प्रवर्द्धनमा प्रदेश सरकारको साथ रहने प्रतिबद्धता जनाए।

शिव साजनको शब्द तथा संगीत, शिशिर पाण्डेको संगीत संयोजन र अनिल बागीको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो जनकपुरधामस्थित जानकी मन्दिर, राजदेवी मन्दिर र ऐतिहासिक गंगासागर सरोवरमा छायांकन गरिएको हो। भिडियोमा शर्मिला थापा, निभा यादव, इन्जिनियर सिमरन साह, अमृता साह र सिमरन सोनीले अभिनय गरेका छन्। कमलेश सिंह (कामली) को निर्देशनमा उडान प्रोडक्सन्सले निर्माण गरेको भिडियोको छायांकन साजन ठाकुरले गरेका हुन्।

निर्मात्री थापाले मिथिलाको धर्म, संस्कृति र परम्परालाई गीतसंगीत तथा चलचित्रमार्फत अन्तर्राष्ट्रियस्तरमा चिनाउने आफ्नो प्रयास जारी रहने बताइन्। उनले आगामी दिनमा ‘मायाजाल’ चलचित्र सार्वजनिक हुने र आफूले निर्माण गरेको नेपाली चलचित्र ‘आशा’ आगामी माघेसंक्रान्तिमा प्रदर्शन हुने जानकारी पनि दिइन्। भोजपुरी, मराठी, बंगाली तथा भारतीय चलचित्रका गीतमा स्वर दिँदै आएकी कल्पना पछिल्लो समय धार्मिक गीतसंगीतमा समेत सक्रिय छिन्।