ब्युटी न्युज नेपाल
काठमाडौँ, २ कात्तिक
आमा र छोरीको भावनात्मक सम्बन्धसँगै शिक्षाको महत्त्व उजागर गर्ने नेपाली चलचित्र ‘लालीबजार’ अब विश्वभरका नेपाली दर्शकले अनलाइनमार्फत हेर्न पाउने भएका छन्। षट्कोण आर्ट्सको निर्माणमा बनेको यो चलचित्र फूलपातीदेखि ओटीटी प्लेटफर्म डिगो एपमा विश्वव्यापी रूपमा रिलिज गरिएको हो।
निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँका अनुसार विदेशका विभिन्न स्थानमा चलचित्र प्रदर्शन गर्न नसकिएका कारण ओटीटीमार्फत विश्वभरका नेपाली दर्शकमाझ पुर्याइएको हो। सामाजिक सञ्जालमा चलचित्रको प्रदर्शनबारे दर्शकले निरन्तर जिज्ञासा राख्दै आएको उल्लेख गर्दै उनले डिगो एपमा चलचित्र हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन्।
सामाजिक दायित्व र मनोरञ्जनलाई सँगसँगै अघि बढाउने उद्देश्यले निर्माण गरिने षट्कोण आर्ट्सका चलचित्रमध्ये ‘लालीबजार’ पनि सबै उमेर समूहका दर्शकका लागि उपयोगी सिकाइ बन्ने विश्वास बानियाँले व्यक्त गरेका छन्।
यम थापाको कथा तथा निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेललगायत कलाकारको अभिनय छ। यसै चलचित्रबाट विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनयमा पदार्पण गरेका छन्। चलचित्रको पटकथा तथा संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन्।
नेपाल सरकारबाट इजाजतप्राप्त डिगो एपमा नेपाली चलचित्र, वेब सिरिज, खेलकुद तथा मनोरञ्जनका विभिन्न सामग्री उपलब्ध छन्। मासिक २४९ रुपैयाँदेखि सदस्यता लिन सकिने यस एपमार्फत नेपाली सामग्री विश्वभरका दर्शकमाझ पुर्याउने लक्ष्य राखिएको छ।









