ब्युटी न्युज नेपाल
गोरखा, १६ भदौ
प्राकृतिक विपत्तिबाट प्रभावित बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि नेपाल उमा कुङ्फु संघ, पालुङटार गोरखाले प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरेको छ।
पछिल्लो समय बाढी तथा अन्य प्राकृतिक विपत्तिका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला पीडित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले संघले ८ हजार रुपैयाँ रकम सहयोग गरेको जनाएको छ।
संघले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै उद्धार, राहत र पुनर्स्थापनाका कार्यमा सबै पक्षलाई सहयोग तथा सहकार्य गर्न अपिल गरेको छ। सरकारको प्रयाससँगै नागरिकस्तरबाट हुने सहयोगले पनि विपद् व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको संघको भनाइ छ।
नेपाल उमा कुङ्फु संघ पालुङटारका अध्यक्ष प्रेमबहादुर कार्की, उपाध्यक्ष कृष्णबहादुर बोगटी, सचिव अनिल थपलिया, सहसचिव रामकाजी कोइराला, कोषाध्यक्ष सुष्मा ढकाल तथा सदस्यहरू लालध्वज अधिकारी र चन्द्रबहादुर रानालगायतको सहभागितामा सहयोग रकम प्रदान गरिएको हो।
संघले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि संघसंस्था, व्यवसायी, सामाजिक अभियन्ता तथा सर्वसाधारणलाई आफ्नो क्षमता र हैसियतअनुसार सहयोग गर्न आग्रह गरेको छ।
विपद्को समयमा पीडितको साथमा उभिनु सबैको साझा मानवीय दायित्व भएको उल्लेख गर्दै संघले राहत तथा पुनर्स्थापनाका अभियानमा एकजुट हुनसमेत अपिल गरेको छ।






