बाढीले रसुवा, नुवाकोट र धादिङका एक दर्जन विद्यालय प्रभावित


ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ भदौ

भोटेकोशीमा बुधबार आएको अप्रत्यासित भीषण बाढीले रसुवा, नुवाकोट र धादिङका विद्यालयमा समेत ठूलो क्षति पुर्‍याएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको प्रारम्भिक विवरणअनुसार तीन जिल्लाका करिब एक दर्जन विद्यालय प्रभावित भएका छन्, जसमध्ये रसुवामा सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति भएको अनुमान गरिएको छ। रसुवाका तीन विद्यालय पूर्ण रूपमा ध्वस्त र एउटा विद्यालयमा आंशिक क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

बाढीबाट गोसाईकुण्ड गाउँपालिका र टिमुरे क्षेत्रका विद्यालय बढी प्रभावित भएका छन्। टिमुरेस्थित विद्यालयका भवन तथा शैक्षिक सामग्रीमा क्षति पुगेको छ भने उत्तरगया गाउँपालिकाका विद्यालय क्षेत्रमा समेत बाढीको असर परेको जनाइएको छ। गोसाईकुण्ड गाउँपालिकाको आधिकारिक शिक्षा विवरणमा टिमुरे क्षेत्रमा सामुदायिक विद्यालयहरू सञ्चालनमा रहेको उल्लेख छ।

नुवाकोटको विदुर नगरपालिका–५ स्थित त्रिभुवन त्रिशूल माध्यमिक विद्यालयमा हिलो, लेदो र बाढीले बगाएर ल्याएका सामग्री भरिँदा भौतिक संरचनामा व्यापक क्षति पुगेको प्रारम्भिक जानकारी छ। प्रभावित विद्यालयहरूको क्षतिको यकिन विवरण संकलन भइरहेको मन्त्रालयले जनाएको छ।

भोटेकोशीबाट सुरु भएको बाढी रसुवा हुँदै नुवाकोट, धादिङ तथा तल्लो तटीय क्षेत्रसम्म फैलिएको थियो। सञ्चार, विद्युत् र सडक संरचनामा क्षति पुगेकाले विद्यालयहरूको वास्तविक अवस्था र शैक्षिक सामग्रीको क्षति विवरण संकलनमा कठिनाइ भइरहेको सम्बन्धित निकायले बताएका छन्।