ब्युटी न्युज नेपाल
काठमाडौँ, ८ भदौ
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको चौथो महाधिवेशनबाट साहित्यकार मञ्जिला अनिल अध्यक्षमा निर्वाचित भएकी छन्। अनामनगरस्थित सामाजिक विकास समाजको सभाकक्षमा सम्पन्न निर्वाचनबाट उनी सन् २०२६ देखि २०२८ सम्मको दुईवर्षे कार्यकालका लागि अध्यक्ष चुनिएकी हुन्।
महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा अध्यक्ष पदबाहेक अन्य सबै पदाधिकारी तथा कार्यसमिति सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा कमला वली, उपाध्यक्षमा रञ्जना निरौला, महासचिवमा रमेश दाहाल, सचिवमा खेमराज न्यौपाने तथा कोषाध्यक्षमा कमला रिसाल निर्विरोध चयन भएका हुन्।
त्यस्तै, कार्यसमिति सदस्यहरूमा रत्नलक्ष्मी श्रेष्ठ, राधिका गुरागाईं, केवला भट्टराई, देवेन्द्र पराजुली, सुषमा आचार्य, उषा केसी, डीआर राई, शान्ति न्यौपाने रिसाल र इन्दिरा ढकाल निर्वाचित भएका छन्।
चुनावी साधारण सभामा अनेसास केन्द्रीय समितिका प्रतिनिधि तथा पर्यवेक्षक, केन्द्रीय सचिव ऋषभदेव घिमिरे, प्रा. डा. खगेन्द्र लुइटेल, पूर्व अध्यक्ष राधेश्याम लेकाली, सल्लाहकार तथा आजीवन सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नवनिर्वाचित समितिले थप दुई कार्यसमिति सदस्य र आवश्यक सल्लाहकार मनोनयन गर्ने जनाइएको छ।






