मँसिर ७ देखि २२सम्म प्रथम सुर्यविनायक कृषि, साँस्कृतिक तथा व्यापार महोत्सव हुने


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ कात्तिक

मँसिरको सुरुवातसँगै देशका विभिन्न ठाउँमा मेला महोत्सबहरु सुरु भएका छन् । यसै क्रममा राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान नेपालको मुख्य आयोजनामा आगामी ७ मंसिरबाट ‘प्रथम सुर्यविनायक कृषि, साँस्कृतिक तथा व्यापार महोत्सव’ हुने भएको छ । सुर्यविनायक नगरपालिका ३ बालकोटमा हिजो आयोजित पत्रकार सम्मेलनमा ७ मंसिरबाट २२ मंसिरसम्म महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिइएको छ । महोत्सबको आयोजकमा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लि.रहेको आयोजक नवराज ढुँगानाले जानकारी गराएका छन् ।

कार्यक्रममा स्थानीय देखि राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति रहने छ । साँस्कृतिक कार्यक्रममा पनि भक्तपुर जिल्लाका कलाकर्मीलाई पहिलो प्राथमिकता दिने राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष नमराज ढुंगानाले जानकारी दिए । महोत्सव लक्षित प्रचारप्रसारलाई तिब्रता दिने उनले बताए । महोत्सवमा काठे लोक दोहोरी गीत प्रतियोगीता, विद्यालयस्तरिय नृत्य प्रतियोगीता पनि सञ्चालन गरिने अध्यक्ष ढुंगानाले बताए ।

सुर्यविनायक नगरपालिका भित्रका हरेक वडालाई एक एक वटा स्टल उपलब्ध गराउने र सोही स्टलमा वडामा उत्पादन हुने कृषि तथा हस्तकलाका सामग्रीलाई प्रदर्शनीमा राख्ने वातावरण मिलाउने आयोजकले जनाएको छ ।

बालकोट हनुमत्ते करिडोर सँगै आयोजना गरिने महोत्सवमा स्थानीय उत्पादनका साथै बाँस, नर्सरी, जुत्ता, खानेकुरा, सांस्कृतिक बाजा लगायतलाई प्रवद्र्धन गरिने संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लि.का प्रेम प्रसाद दाहाल (दीपक)ले जानकारी दिए । नेपालमै उत्पादन गरिएको बाल उद्यान समेत सञ्चालन गरिने उनले बताए । मंसिर १४, १५, २१ र २२ गते बाहेक अन्य दिन प्रवेश निशुल्क रहने आयोजकले जनाएको छ । ती दिन विशेष साँस्कृतिक साँझको आयोजना गरिने राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान नेपालका महासचिव चन्द्रमणी गौतमले जानकारी दिए ।