ब्युटी न्युज नेपाल
काठमाडौं, १९ बैशाख
बढ्दो शहरीकरण र प्रदुषणलाई मध्यनजर राखेर शहरलाई अझ सुन्दर र व्यबस्थित बनाउन काठमाडौं भित्र फेरी सार्वजनिक पार्क तथा बगैंचोको निर्माण क्रम बढेको छ । यसै क्रममा गोंगबु आवास क्षेत्रमा पनि नयाँ पार्क निर्माण गरिएको छ ।
गोंगबु आवास क्षेत्र सुधार समितिको पहल र काठमाडौं महानगरपालिकाको सहयोगमा नयाँ पार्क निर्माण भएको हो । गोंगबु आवास क्षेत्र सुधार समिति अध्यक्ष पाण्डवकुमार श्रेष्ठको अध्यक्षतामा आइतबार एक समारोहमाझ काठमाडौं–२६ का वडा अध्यक्ष ख्याम तिवारीले सो नवनिर्मित पार्कको उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा काठमाडौंका प्रमुख बालेन शाह कार्य व्यबस्ता देखाउँदै उपस्थित हुन नसकेपछि पार्कको उद्घाटन वडा अध्यक्ष तिवारीले गरेका हुन् । समारोहमा विशेष अतिथिका रूपमा नगर विकासका योजना प्रमुख प्रकाश ढुंगाना र वडासदस्य प्रवेश श्रेष्ठ, गोंगबु आवास समितिका निवर्तमान अध्यक्ष तथा क्लबका अध्यक्ष महेश्वरकुमार श्रेष्ठ थिए ।
झण्डै एकहजार टोलबसीको उपस्थितिमा भएको कार्यक्रममा शिलालेख र यस कार्यकालको समिति सदस्यहरूको नामसमेत उल्लेख गरिएको शिलालेख वडाअध्यक्ष तिवारीबाट उद्घाटन गरिएको थियो । कार्यक्रममा गोंगबु आवास समितिका संस्थापक अध्यक्ष हरि कर्माचार्य, सबै पूर्वअध्यक्षहरू, ब्यबसायी तथा समाजसेवी प्रकाश कुमार श्रेष्ठको उपस्थिति थियो ।